Paschim News

रासस प्रकाशित : २०७५/८/१० गते

एक विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनका लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहजै उपलब्ध हुने भएको छ।

गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गंगा पोदारले हेल्लो सरकारमा फोन गरेर मोरङको विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा निःशुल्क उपलब्ध हुुनुपर्ने रिटोटलिङ फारम क्याम्पस प्रशासनले नराख्ने भएकाले विद्यार्थीले बाहिरबाट किन्नुपरेको र त्यसको आधिकारिक भ्याट बिलसमेत पसल सञ्चालकले नदिने गरेको उजुरी टिपाएका थिए।

हेल्लो सरकारबाट अनलाइन वेब पोर्टलमार्फत गुनासोलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्दै त्रिवि, केन्द्रीय कार्यालयमा पठाएको थियो। त्यसपछि त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्न गत कात्तिक २९ गते नै उक्त गुनासो बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा पठाएको थियो। 

विराटनगरस्थित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा उक्त जानकारी प्राप्त भएपछि यही मंसिर ९ गते पूर्वाञ्चलका सबै क्याम्पसलाई पत्राचार गर्दै कार्यालयले रिटोटलिङ फारम र माइग्रेसन फारम क्याम्पस प्रशासनमा राखी विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

पत्रसाथ रिटोटलिङ फारम र माइग्रेसन फारमका नमुनासमेत पठाएको कार्यालयका सहपरीक्षा नियन्त्रक अर्जुनविक्रम खड्काले जानकारी दिए।

पूर्वाञ्चलमा रहेका त्रिविअन्तर्गतका सबै क्याम्पसले उल्लिखित फारम प्रशासनबाट निःशुल्क रूपमा विद्यार्थीलाई वितरण गर्नुपर्नेछ। 

प्रतिकृया दिनुहोस्