Paschim News

प्रकाशित : २०७५/८/१९ गते

नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको बैठक यही साता चीनको बेजिङमा बस्ने भएको छ ।

दुवै मुलुकका परराष्ट्र अधिकारी संलग्न रहने संयन्त्रको १२औं बैठक आउदो शनिबारका लागि तय भएको हो । बैठकमा चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनासहित चिनियाँ सहयोगमा नेपालमा निर्माण भइरहेका र निर्माण प्रक्रियामा रहेका परियोजनाबारे छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

‘यसअघि दुवै मुलुकबीच विभिन्न चरणमा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनको वातावरण बनाउन बैठक उपयोगी बन्न सक्छ’ –परराष्ट्रका एक अधिकारीले भने ।

बेल्ट एन्ड रोड परियोजनाका अतिरिक्त अन्तरदेशीय रेल्वे परियोजना, अन्तरदेशीय विद्युत् प्रशारण लाइन विस्तार, सडक र अन्य पूर्वाधार विकास, पर्यटन, द्विपक्षीय व्यापारजस्ता विषय बैठकको एजेन्डा बन्ने ती अधिकारीले बताए ।

सन् १९९६ मा यस्तो संयन्त्र स्थापना भए पनि विगतमा द्विपक्षीय जमघट नियमित बन्न नसक्दा दुवै तर्फबाट विगतमा भएका सम्झौता कार्यान्वयन हुन ढिलासुस्ती भएको कूटनीतिक मामिलाका जानकार बताउँछन् ।

यसपटकको बैठकमा नेपालले भूकम्पपछि अवरुद्ध रहेको तातोपानी नाका सुचारु गर्न र अन्य नाका खुलाउन चिनियाँ अधिकारीलाई ध्यानाकर्षण गराउने बताइएको छ ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्दै हुनुहुन्छ भने चिनियाँ पक्षको नेतृत्व त्यहाँका सहायक विदेशमन्त्री कोङ झ्यानयूले गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्