Paschim News

माेहनप्रसाद मैनाली प्रकाशित : २०७६/७/११ गते

भाइटीकामा प्रयोग हुने टीका तथा सयपत्री मालाको विशेष अर्थ रहेको छ । दाजुभाइ तथा दिदीबहिनीले एकआपसमा वर्षभरि नै शुभ होस् भनेर सयपत्रीको माला लगाइदिएको हो । मखमली फूलको माला लगाउनुको अर्थ सुखदुःखमा एकै किसिमको व्यवहार गर्नु र सधैँ तेजिलो भइरहनु भन्ने हो । त्यस्तै तिहारमा प्रयोग गरिएका सप्तरंगी टीकाले पनि विशेष महत्व राखेको हुन्छ।

तिहारमा फूलका मालाले घर तथा मठ मन्दिरहरु सजाइन्छन् र बत्तीको वली दिने गरिन्छ । तिहारलाई कतिपय ठाँउमा दिपावलीको रुपमा पनि चिन्ने गरिन्छ । तिहारमा यमपञ्चकको पूजाको विधान छ । काग तिहार, कुकुर तिहार, गाइतिहार, गोरु तिहार र भाइटीका गरी पाँचदिन तिहार मनाईन्छ । यी सबै तिहारमा यमराजको पूजा अनिवार्य छ ।

तिहारको पाँचै दिन यमराजको पूजा गरिने भएकाले पनि यस पर्वलाई यमपञ्चक भनिएको हो । यमपूजाबाट यमराज खुशी भई हामीले गरेको पाप कर्मका कारण यमलोक जाँदा आफ्नो पूजा गर्ने भक्तलाई कम सजाँय दिन्छन् वा सजाय माफ गर्न पनि सक्छन् भन्ने धर्मशास्त्रको मान्यता छ । त्यसैले पनि यपपञ्चकमा यमराजको भव्यरुपमा पूजा गर्ने चलन छ।

उज्यालो तथा भातृत्वको पर्व तिहारमा टाढा टाढा भएका दाजुभाइ तथा दिदीबहिनीहरू एकै ठाँउमा जम्मा भई एकआपसको दुःख सुख साटासाट एवं स्वास्थ्य र दिर्घायुको कामना गर्ने गरिन्छ । दाजुभाइलाई दिदी बहिनीले सप्तरंगी टीका तथा सयपत्री माला लगाई भातृप्रेम प्रकट गर्ने गर्दछन् । आफ्ना दाजुभाइको स्वास्थ्य राम्रो होस् भनेर फलफूल तथा मसला दिने गरिन्छ भने दाजुभाइले पनि आफ्ना दिदी बहिनीलाई दक्षिणा तथा उपहार दिएर खुशी राख्ने गरिन्छ।

राक्षसका राजा यमराजलाई उनकी बहिनी यमुनाले टीका लगाई पान मसला दिएको पौराणिक धार्मिक ग्रन्हथरुमा वर्णन गरिएको पाइन्छ । त्यसै बेलादेखि नै यस दिनलाई भाइटीका भनिएको र पर्वको रूपमा विकसित भएको पाइन्छ । पान मसला शुभको प्रतिक हो । आफ्ना दिदीबहिनी तथा दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको मन्दिरमा गएर टीका लगाउने गरिन्छ । उक्त मन्दिर हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने गर्दछ ।

तिहारमा दिदीबहिनीबाट प्राप्त हुने मसला तथा टीकाको आफ्नै महत्व छ । दिदीबहिनीबाट दाजुभाइलाई दिइने मसलामा ओखरको विशेष महत्व रहेको छ । ओखरको सेवनले मानिसको मुटु स्वस्थ राख्न मद्दत पुग्छ भने यसको नियमित सेवनले क्यान्सर जस्ता घातक रोगबाट समेत बचाउन सक्छ भन्ने आयुर्वेवेर्दिक शास्त्रमा उल्लेख भएको पाइन्छ । मधुमेह, छालाको चाउरीपन तथा शरीरको विभिन्न पीडामा पनि यसले फाइदा पुर्‍याउँछ।

यी पाँच दिनमा यमराजलाई बत्तिको वलि दिएर विशेष पूजा गरिन्छ, त्यसैले पनि तिहारलाई यमपञ्चक भनिएको हो । यी पाँच दिनमा गरिने पूजाकाे विशेष अर्थ र महत्व रहेकाे छ ।

काग पूजा
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई यमदूतको रुपमा चिनिन्छ । कागले ल्याउने समाचारलाई अमगंलको सूचनाको रूपमा लिइन्छ । राम्रो समाचार ल्याओस् भनेर कागलाई खुशी राख्न यो दिन कागको पूजा गरी भोजन दिने गरिएको हो।

कागलाई पूजा गरेर भोजन दिँदा भनिने मन्त्रः
ऐन्द्रवारुणवायब्यां सौम्या वैं नैर्ऋतास्तथा ।
वायसाः प्रतिगृहणन्तु भूमौदत्तमिमं वलिम् ।।

कुकुर पूजा
तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई मिठामिठा परिकार खुवाउने गरिन्छ । व्यवहारिक जीवनमा कुकुर मानिसको असल साथी र रक्षक भएकाले पनि कुकुरलाई पूजा गरेर मिठामिठा परिकार खुवाएर खुशी राख्ने गरिन्छ।

कुकुरलाई पूजा गर्दा भनिने मन्त्रः
द्धौ श्वानौ श्यामधबलौ वैवश्वतकुलोद्भवौ ।
ताम्यामन्नं प्रयच्छामि रक्षतां पथि सर्वदाः ।।

गाई तथा लक्ष्मीपूजा
तिहारको तेस्रो दिन बिहान घरघरमा गाईको पूजा गरिन्छ । सदाका दिनहरुमा गाईलाई काँचो खानेकुरा दिने भएपनि यस दिनमा विशेष तरिकाले पकाइएका अन्नहरु खुवाउने गरिन्छ । त्यसैगरि साँझमा धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी धनकी देवी भएकीले त्यसदिन लक्ष्मीको पूजा गरेमा वर्षभरि धनसम्पत्तीको खाँचो नहुने जनविश्वास रहेको छ।

गाई तथा धनकी देवी लक्ष्मीको पूजा गर्दा भन्ने मन्त्रः–
लक्ष्मीर्या लोकपालानां धेनुरुपेण संस्थिता ।
धनं वहति यज्ञार्थे मम पापं ब्यपोहतु ।।

गोरू तथा गोवर्द्धन पूजा
तिहारको चौथो दिन गोरु तथा गोवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ । गोरूले हाम्रो खेतबारी जोत्ने भएकाले मानिसको सहयोगीको रूपमा पूजा गर्ने गरिएको हो । गोरुलाई फूलको माला लगाई विशेष रुपले पकाइएको अन्न खुवाइने गरिन्छ । त्यस्तै गोवर्द्धन पर्वतको पूजा गर्दा गाईवस्तुलाई घाँसको अभाव हुँदैन भन्ने विश्वासका साथ गाेवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ ।

गोवर्द्धन पूजा गर्दा भनिने मन्त्रः–
गोवर्द्धनं गाे धराधार गोकुलंकारक ।
बहुवाहुकृतच्छाय गवां कोटिप्रदो भव ।।

भाइटीका
तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । यसदिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका तथा मखमलीको माला लगाई स्वास्थ्य तथा दिर्घायुको कामना गरिन्छ । यो दिनमा दिदीबहिनीले दाजुभाइको टाउको तथा कानमा तेल राख्ने पनि चलन छ । दिदीबहिनीले दाजुभाइलाई मिठामिठा परिकार तथा पान मसला (भाइमसला) दिने चलन छ । त्यस्तै दिदीबहिनीलाई पनि दाजुभाइले विशेष उपहारका साथै दक्षिणा दिने गरिन्छ ।

भाइटीका गर्दा वलीराजालाई प्रार्थना गर्ने मन्त्रः–
वलिराजा नमस्तुभ्यं दैत्यदानववन्दित ।
इन्द्रशत्रोऽमराराते विष्णुसान्निध्यदो भव ।।

भाइटीकामा प्रयोग हुने टीका तथा सयपत्री मालाको विशेष अर्थ रहेको छ । दाजुभाइ तथा दिदीबहिनीले एकआपसमा वर्षभरि नै शुभ होस् भनेर सयपत्रीको माला लगाइदिएको हो । मखमली फूलको माला लगाउनुको अर्थ सुखदुःखमा एकै किसिमको व्यवहार गर्नु र सधैँ तेजिलो भइरहनु भन्ने हो । त्यस्तै तिहारमा प्रयोग गरिएका सप्तरंगी टीकाले पनि विशेष महत्व राखेको हुन्छ।

रातो टीका
रातो टीकालाई मङ्गल तथा विजयको सूचकको रुपमा लिइन्छ ।

सेतो टीका
सेतो टीका शान्तिको प्रतिक हो। वर्षभरी दाजुभाइ र दिदीबहिनीको सम्बन्ध शान्तिमय बनोस् भन्ने सेतो टीकाको अर्थ हो।

पहेँले टीका
पहेँले टीकाले दीर्घजीविको संकेत गर्दछ । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध दीर्घकालसम्म निरन्तर रहोस् भन्ने विषेश अर्थ यसले दिएको छ ।

निलो टीका
निलो रंगले निरोगीको संकेत गर्ने भएकाले दाजुभाइ तथा दिदीबहिनीको शरीरमा कुनै रोगले आक्रमण नगरोस् भनेर निलो रंगको टीका प्रयोग गरिएको हो ।

हरियो टीका
हरियो रङ्ग बौद्धिकताको संकेत हो । दाजुभाइ तथा दिदीबहिनीले एकआपसमा बौद्धिकताले बास गरोस् तथा दरिद्रिपन नआयोस् भनेर हरियो रंगको टीका लगाउने गरिएको हो ।

प्रतिकृया दिनुहोस्