Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१३ गते

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसले बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहबाट सिफारिस गरेर पठाएका नाममा अन्तिम टुङ्गो लगाउन कांग्रेसले पदाधिकार बैठक बोलाएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहित पदाधिकारीहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । यस अघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

मंसिर १४ गते हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।

प्रतिकृया दिनुहोस्