Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/२६ गते

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आईपुग्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको नियन्त्रणमा बंगलादेशका समकक्षी हमिद नेपालको चार दिने राजकीय भ्रमणका लागि आज काठमाडौं आउनुभएको हो ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो । बंगलादेशका राष्ट्रपति हमिदको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतका मन्त्रीहरु विमानस्थल पुग्नु भएको थियो । त्यस अवसरमा राष्ट्रपति हमिदलाई ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरियो ।

राष्ट्रपति हमिदले भोलि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ । उहाँले भोलि समकक्षी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, परराष्ट्रमन्त्री ज्ञवाली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति हमिदले नेपालको राजकीय भ्रमणका क्रममा आज अपरान्ह भक्तपुरस्थित विश्व सम्पदा सूचिमा रहेका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरुको अवलोकन गर्नुहुनेछ भने बिहीबार पर्यटकीय नगरी पोखराको अवलोकन गर्नुहुने बताइएको छ । शुक्रबार काठमाडौंको चन्द्रागिरीको अवलोकन गरेपछि उहाँ अपरान्ह स्वदेश फर्कनु हुनेछ ।

प्रतिकृया दिनुहोस्