Paschim News

प्रकाशित : २०७६/८/१ गते

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउभएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इञ्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उहाँले सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको भएपनि वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गर्नुभएको छ ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले संवाद मार्फत सीमा सम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएकोे छ । पछिल्लो समय राजनीतिक पुर्वाग्रह र आत्मकेन्द्रित भएर सरकारको विरोध हुने गरेको भन्दै उहाँले दुवै ढंगका विरोध उचित नरहेको बताउनुभयो ।

उहाँले नाफाको निर्मम निर्दयी पूँजीवादी प्रणाली र जनतालाई माया गर्ने समतामुलक, न्यायपूर्ण तथा मानवतावादी समाजवादी प्रणालीबीच अहिले पनि वैचारिक र व्यवहारिक संघर्ष कायम रहेको उल्लेख गर्नुभयो । केही कमिकमजोरी भएपनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भएपनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उहाँले  सिर्जनात्मक सोचका साथ काम गर्न निर्देशन दिनुभयो ।

केही वर्ष अघि सम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दै उहाँले वर्तमान अवस्थामा भने मुलुकमा पूर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताउनुभयो । उहाँले अझै पनि बोक्सीको नाममा महिलाहरुले कुटाइ खाने, विवाहको नाममा बेचिने क्रम चलेको भन्दै जोरजुलुम भन्दा जागरण अभियान चलाउने काममा लाग्न युवाहलाई निर्देशन दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्