Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२७ गते

डोल्पा । हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काँप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले जानकारी दिनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना (साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गणमा आगो बालेर परीक्षा दिलाउन थालिएको उहाँले बताउनुभयो ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा र  वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ ।  चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीय जुनराज रोकायले बताए ।

हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्