Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२९ गते

जाजरकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जाजरकोटको भेरी नगरपालिकाका करिव ४५ सय विद्यार्थीलाई सुविधायूक्त जापानी झोला हस्तान्तरण गर्नुभएको छ । रुपान्तरण नेपालको समन्वयमा यू मी नेपाल जापानले उपहारस्वरुप पठाएका जापानी झोलाहरु मुख्यमन्त्री शाहीले हस्तान्तरण गर्नुभएको हो ।

जाजरकोटको भेरी नगरपालिकासँगको समन्वयमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री शाहीले ४७ सामुदायिक विद्यालायका ४ हजार ४ सय ५३ विद्यार्थीलाई जापानी झोला वितरण गर्नुभएको रुपान्तरण नेपालले जनाएको छ । मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती र रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले विद्यार्थीलाई झोला वितरण गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले भविष्यका कर्णाधार र देशको भविष्य बोकेका बालबालिकालाई जापानमा बस्ने नेपालीहरुले गरेको सहयोगको प्रशंसा गर्नुभयो । साना बालबालिकाको शिक्षामा लगानी बढाउनु भनेकै राष्ट्रका लागि सक्षम नागरिक तयार गर्न सहयोग गर्नु हो भन्दै मुख्यमन्त्री शाहीले आफूजस्तै मुख्यमन्त्री बन्ने लक्ष्य राखेर पढ्न विद्यार्थी भाइबहिनीलाई आग्रह गर्नुभयो ।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले आइतबार बालबालिका जस्तो शिक्षा संस्कारमा हुर्किन्छन् भोलिको देश र समाज पनि त्यस्तै बन्ने भएकाले यसतर्फ सरकार र समाज गम्भीर बन्नुपर्ने बताउनुभयो ।

रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कर्णालीको सामुदायिक विद्यालयमा अध्ययनरत भाइबहिनीले हातमा किताबको भारी बोक्नु नपरोस् भन्ने उदेश्यले जापानमा बस्ने नेपाली विद्यार्थीहरुले झोला उपहार पठाएको बताउनुभयो । अध्यक्ष शाहीले यू मी नेपाल जापानले कर्णाली प्रदेशका चार जिल्लाहरु जाजरकोट, सल्यान, दैलेख र कालिकोटका चार स्थानयि तहका सामुदायिक विद्यलायमा अध्ययनरत १४ हजार ९ सय ९२ विद्यार्थी भाइबहिनीका लागि उपहारस्वरुप झोला पठाएको जानकारी दिनुभयो ।

मुख्यमन्त्रीको हातबाट सुविधायुक्त जापानी झोला उपहार पाएपछि जाजरकोटका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिका निकै खुशी देखिन्थे । झोला लिन करिब ४ घण्टाको पैदाल यात्रा पार गरेर बालबालिका सदरमुकाम खलंगा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्