Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२ गते

काठमाडौं । वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जानेहरु आफूलाई कम्पनी, काम, तलबलगायत केही थाहा नभएको गुनासो गर्छन् । आफू कहाँ जाँदैछु ? के काम गर्नु पर्ने हो ? सेवासुविधा केकस्ता छन् ? भन्ने कुरा नबुझि विदेश जान लागेका निर्दोश मुहारले केवल अँध्यारोमा झट्टि हान्दैछन् झैँ लाग्छ । थाहा छैन उनीहरुको झटारो सही ठाउँमा लाग्छ या गलत । त्यो त भाग्यमा भर पर्छ भन्दा पनि फरक नपर्ला ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा  बुधबार राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अध्यागमन विभागमा अनुगमन गर्दा अँध्यारोमा झट्टी हान्न लाइन लागेर बसेका हजारौँ मानिस भेटिए । अधिकांश वैदेशिक रोजगारीमा जान तयार मानिसहरु कसैलाई पनि आफ्नो काम, सेवा सुविधा, कम्पनीका बारेमा राम्रोसँग जानकारी नभएको पाइएको छ ।

रोजगारीकै लागि घरपरिवार छाेडेर सात समुद्र पारीको यात्रामा हिँडिरहेकाहरु कुनै न कुनै रुपमा ठगिइरहेका हुन्छन् ।

१० हजार टिकटको तिरेर विदेश जान लाइनमा लागेकाहरु कसैलाई पनि फ्रि भिसा फ्रि टिकट भन्दै आइएको सुविधाको बारेमा जानकारी छैन । नेपालीहरुबाटै ठगिने नेपालीहरु विदेशी भूमिमा विदेशीहरुबाट अछुतो भने पक्कै नरहलान् ।

विदेश जानेहरुको सुरक्षा र काम गर्ने कम्पनीसँग भएको सम्झौताअनुसार काम होस् भन्ने उद्देश्यसहित मानवअधिकार आयोगले पनि समय सयममा अनुगमन गरिरहेको छ । आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको आयोगका निर्देशक मुराहरी खरेलले बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जानेहरु कुनै न कुनै रुपमा ठगिदै आएको बताउँदै यस सम्बन्धी रिपोर्ट छिट्टै सरकारलाई बुझाउने जानकारीसमेत दिएको छ ।

प्रतिकृया दिनुहोस्