Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/७ गते

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनको दिन आफ्ना कार्यालय र देशभरीका शाखा कार्यालयहरुमा दीपावली गर्न बैंकर्स तथा वित्तीय संस्थालाई अपिल गर्नुभएको छ ।

सोमबार नेपाल भ्रमण वर्षको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलका क्रममा उहाँले यस्तो अपिल गर्नुभएको हो ।

छलफलमा मन्त्री भट्टराईले बैंकर्स तथा वित्तीय संस्थाका प्रमुखलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ सफल बनाउन सक्रियताका साथ र सहभागिताको लागि आह्वान गर्नुभयो । भ्रमण वर्षले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल शान्ति, समृद्वि र स्थायित्वको बाटोमा लागेको सन्देश दिने उहाँको भनाइ छ । उहाँले पर्यटनको निम्ती पूर्वाधार जरुरी रहेको उल्लेख गर्दै सरकारले हवाइ पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको जनाउनुभयो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलले हवाइ चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भ्रमण वर्षलाई सफल बनाउन संघको सहयोग रहने बताउनुभयो । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले पनि पयटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्