Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/१९ गते

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबाट बनेको अनेरास्ववियुले लामो किचलोपछि पूर्णता पाएको हो ।

अनेरास्ववियुले ३३५ केन्द्रीय सदस्य चयन छिनोफानो गरेको छ । गएको जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन । यसअघि अनेरास्ववियुले जिल्ला कमिटीलाई पूर्णता दिइसकेको छ । साविक अनेरास्ववियुबाट १ सय ८० र क्रान्तिकारीबाट १ सय ५५ केन्द्रीय सदस्यमा अटाएका छन् ।

अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक महर र सहसंयोेजक तामाङसहितको ‘फ्रयाक्सन कमिटी’को बैठकले पूर्णता दिइएको हो । नवगठित कमिटीमा १ सय ११ केन्द्रीय सदस्यको सचिवालय र ४५ जनाको स्थायी कमिटीसमेत गठन गरिएको छ । केन्द्रीय कार्यालय कमिटीपछि तोकिने संयोजक महरले जानकारी दिनुभयो । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

निर्वाचन आयोगमा संयोेजक भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगमा संयोजक धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगमा संयोजक प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहनुभएको छ । नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासंघ, युवा संघ, प्रेस सङ्गठन नेपाल, इञ्जिनियरिङ एशोसिएशन, निर्माण व्यवसायी सङ्गठनले समेत पूर्णता पाइसकेको छ । अनेरास्ववियुका सहसंयोजक तामाङले पूर्णता पाएको कमिटीसहित अनेरास्ववियुको राष्ट्रिय भेला पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाँकिएको जानकारी दिनुभयो । अनेरास्ववियुले माघ पहिलो सातासम्म प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ ।

प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ । उहाँले अनेरास्ववियुलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । अनेरास्ववियुले क्याम्पस एकाइ कमिटीलाई भने पूर्णता दिन बाँकी छ ।  

 

प्रतिकृया दिनुहोस्