Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२५ गते

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर ३ को संसदीय दलको बैठकले केन्द्रीय सचिवालयको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । यद्यपी यो निर्णयमा केही सांसदहरुले पार्टी बैठकमा असहमति दर्ज गराएका छन् ।

पाँच दिन चलेको बैठक समापन पछि नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ का संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई राजधानी मान्ने र प्रदेश ३ को नाम बागमती तोक्ने निर्णय भएको बताउनुभयो । सबै सांसदहरुलाई संसदीय दलको बैठकमा बोल्न पर्याप्त समय दिई सबैको धारणा संकलन गरेर केन्द्रीय सचिवालयको निर्देशनलाई मान्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश ३ को संसदीय दलको बैठक ऐतिहासिक रुपमा चलेको प्रसंग सुनाउँदै नेपाल कम्युनिष्ट पार्टीका प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले बैठकमा संकलित धारणा र असहमतिका कुराहरु केन्द्रीय सचिवालयलाई बुझाइने बताउनुभयो । सचिवालयको निर्देशन आएपछि समग्र पार्टी नै समस्याग्रस्त बन्ने अवस्था आएको र त्यसबाट आफूसहित नेतृत्वले ठूलो पाठ सिकेको उहाँले प्रतिक्रिया दिनुभयो ।

संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रदेशको राजधानी हेटौँडा र नाम बागमती रहने मात्रै एकल प्रस्ताव पेस गर्ने तयारी नेपाल कम्युनिष्ट पार्टीको छ । बैठकले वर्तमान विकासको गति र अवस्थालाई भन्दा पनि भविष्यको समेत दृष्टिगत गरी हेटौँडालाई राजधानी तोक्ने निर्णय गरेको नेकपाका प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले बताउनुभयो । उहाँले पार्टीले लिखित निर्णय गरिसकेपछि फ्लोर क्रस हुने सम्भावना नभएकाले नेकपामा अब कुनै पनि विवाद नरहेको सुनाउनुभयो ।

पुस १९ गतेबाट शुरु भएको संसदीय दलको बैठक रस्साकस्सीसहित चल्न थालेको र नियन्त्रणभन्दा बाहिर जान लागेको महसुस भएपछि केन्द्रीय नेतृत्व भेट्न असन्तुष्ट नेता तथा प्रदेशका मन्त्रीहरु काठमाडौंसमेत पुग्नुभएको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर फर्किसकेपछि राजधानी र नामको सन्दर्भमा केही लचिलोपन आएपछि केन्द्रीय सचिवालयको निर्देशनले कार्यान्वयन हुने अवस्था आएको थियो ।

मकवानपुरको हेटौँडालाई राजधानी राख्ने विषय मुख्यमन्त्री डोरमणि पौडेलसहितका सांसदहरुको तर्क रहँदै आएको थियो । काभ्रेमा राजधानी हुनुपर्छ भन्ने राय नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेसहितको रहँदै आएको थियो । जातीय पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने तर्क पनि नेकपामा जोडदार रुपमा उठेको थियो ।

संसदमा छलफल जारी
तीन दिनदेखि निरन्तर प्रदेश नं ३ को संसद बैठक चलिरहेको छ । संसदमा राजधानी र नामाकरणको विषयमा छलफल भइरहेको छ । बिहीबारसम्म ४३ जना सांसदहरुले स्थायी राजधानी र नामकरणका सन्दर्भमा धारणा राखिसक्नु भएको छ ।

प्रदेशको राजधानी र नामाकरण विषय टुंग्याउनका लागि शनिबार संसदमा प्रस्ताव प्रस्तुत हुनेछ भने पुस २७ गते मतदान प्रक्रियाबाट नाम र स्थायी राजधानी टुंग्याइने प्रदेश सभा सचिवालयको तयारी छ । १ सय १० जना सदस्य रहेको प्रदेश नम्बर ३ प्रदेश सभामा ८० जना नेकपाका सदस्य छन् । स्थायी राजधानीका लागि कूल सदस्यको दुई तिहाई अर्थात ७४ मत आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस्