Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१ गते

काठमाडौं । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु बुधबार जुधाउन लागिएको हो ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ । संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार गोरु जुधाइको सबै तयारी पुरा भएको छ । चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको हो । गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यसपटक नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालालगायत सहभागी हुने कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

विसं २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाउन लागिएको हो । यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा ११ हल गोरु जुधाउन लागिएको छ । आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलका अनुसार वेत्रावतीमा जुधाइने गोरु जात्राको मेला अवलोकन गर्न प्रतिनिधिसभाको उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुने कार्यक्रम छ ।

नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विंस १८४९ मा बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धि पश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयको पहलमा जोरु जुधाइलाई निरन्तरता दिएको गोसाइकुण्डका क्लबका सल्लाहकार अष्टमान डङ्गोलले बताउनुभयो ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडामा मकर सङ्क्रान्ति पर्वको अवसरमा नवप्रतिभा युवा क्लबको आयोजनामा आठ हल गोरु जुधाउन लागिएको अध्यक्ष शिवहरी विष्टले जानकारी दिनुभयो । उहाँको अनुसार गोरु जुधाइको अवलोकलनको लागि पूर्वअर्थमन्त्री एंव काँग्रेस नेता डा रामशरण महतलगायत सहभागिता रहने कार्यक्रम छ ।

यस्तै, शिवपुरी गाउँपालिका–५ गैरीफाँटमा यस वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइ मेला चलाउन लागिएको आयोजक शेराबगर विकास समाजले जनाएको छ ।

यसैगरी, तादी गाउँपालिका–४ सातविसेमा दश हल गोरु जुधाउन लागिएको छ । ‘माघे सङ्क्रान्ति गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिका अध्यक्ष हरिबहादुर तामाङको अनुसार जुधाउनको लागी १० हल गोरु दर्ता भएका छन् ।

पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ को लामाचउरलगायत स्थानमा किसानले आफूले पालेको गोरु जुधाइ प्रदर्शनी गरेर मनोरञ्जन लिने परम्परलाई यो वर्ष पनि निरन्तरता दिन लागिरहेका छन् । ‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमा गरेर आयोजकले किसानलाई प्रतिस्पर्धामा ल्याउन उत्साहित बनाउँदै आएको छ । पछिल्लो समयमा गोरु पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको सङ्ख्या वृद्धि हुँदै गएकाले यसलाई मनोरञ्जनको लागि मात्र नभई पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृतिको रुपमा प्रचारमा जोड दिनुपर्ने जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङ बताउनुहुन्छ ।

वर्षभरी खेती गर्न गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरुलाई जुधाउन सहभागी गराउँदै आएका किसानको लागि राज्यले अनुदान तथा सहयोगको विशेष कार्यक्रम चलाउनुपर्ने उहाँको सुझाव छ ।

प्रतिकृया दिनुहोस्