Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/४ गते

काठमाडौं । व्यवस्थापन विषयका लेक्चरर विनय लामिछाने आफैंमा एक कुशल व्यवस्थापक पनि थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मंगलदेय क्याम्पसमा व्यवस्थापन संकायमा पढाउदै आएका उनले व्यवसायमा पनि हात हालेका थिए । सेयर र कमोडिटी मार्केटमा उनको लगानी थियो । उनी ‘वेस्ट काठमाडौं बिजनेस इन्भेस्टमेन्ट प्रालि’ का प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

डेढ वर्षअघिदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गरेका विनयले ६ महिनासम्म राम्रै नाफा कमाए । त्यसपछि लोभिएर लगानी बढाए । तर दुर्भाग्य, नाफा पहिलेझै निरन्तर हुन सकेन । एक वर्षको अवधिमा डेढ करोडभन्दा बढी घाटा व्यहोरेपछि उनको जिन्दगीले अर्कै मोड लियो । हिसाब गर्दा आफ्ना भएभरको जायजेथाले पनि ऋण र सापटी तिर्न नभ्याउने भयो । लामिछाने गलत निर्णयमा पुगे । अन्ततः पत्नी र दुई अवोध छोरासहित बिहीबार साँझ त्रिशूली नदीमा हेलिन पुगे ।

मकवानपुर, चित्लाङका विनयले धादिङको सिद्धलेख–७ बडघरेकी जमुना रेग्मीसँग २०७४ मा विवाह गरेका थिए । उनीहरुमा दुई वर्षीय छोरा विजन र ६ महिनाका रिजन थिए । रिजनको शुक्रबार पास्नीको साइत जुरेको थियो । तर परिवारमा सतक परेकाले उनी पास्नी छाडेर श्रीमती र दुई छोरासहित घरबाट निस्किए ।

घर छाड्नुअघि विनयले जमुनासँग भनेका थिए ‘म ऋणमा डुबिसके, अब मर्छु ।’ जवाफमा जमुनाले ‘एक्लै होइन, परिवार नै सँगसँगै मरौं’ भनेपछि उनीहरु दुवै छोरालाई लिएर धादिङतर्फ लागेका थिए । घर छोड्नुअघि विनयले लेखेको तीन पाना लामो ‘सुसाइट नोट’ मा ऋण तिर्नुपर्ने लामो पेहरिस्तसहित आफू मृत्यु रोज्न बाध्य भएको खुलाएका छन् । बढी कमाउने प्रलोभनमा ऋण लिएर गरेको लगानी डुब्न थालेपछि परिवासहित आत्महत्या प्रयास गरेका विनयले श्रीमती र दुई छोरा गुमाएका छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिकृया दिनुहोस्