Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१७ गते

काठमाडौं । सरकारले एक  महिनाकाे घरभाडा र विद्यालय शुल्क छुट गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले घरधनीलाई एक महिनाको भाडा छुट गर्न र निजी विद्यालयलाई चैत महिनाको शुल्क नलिन निर्देशन दिएको हो ।

निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुट दिने व्यवस्था मिलाउने, शहरी क्षेत्रका असंगठित श्रमिक मजदुरलाई सम्बन्धित घरधनीले घरबहाल कर मिनाहा गराइदिन अनुरोध गर्ने तथा मिनाहा गरिएको घर भाडामा घरवहाल कर नलाग्ने व्यवस्था पनि मिलाउने भएको छ ।

सरकारले स्वास्थ्य सेवा सम्बन्धी उपकरणको आयातमा भन्सार नलाग्ने व्यवस्था मिलाउने, आन्तरिक राजश्वतर्फ व्यवसायीलाई कोरोनाले उत्पन्न व्यवधानका कारण कर तिर्ने समयलाई बढाएको छ । फागुनको मासिक, माघ र फागुनको र दोश्रो चौमासिक अवधिको मूल्य अभिवृद्धिकरको विवरण र ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ साल बैशाख २५ गते सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

आयकर ऐन बमोजिम बुझाउनुपर्ने फागुनको अग्रिम करका विवरण र कर दाखिला गर्नुपर्ने समय २०७७ वैशाख २५ गतेसम्म थप भएको छ । आयकर ऐन अनुसार नै चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६÷ ७७ को कर विवरण र दोश्रो किस्ता वापतको रकम दाखिल गर्ने म्याद पनि २०७७ साल वैशाखसम्म थप गरिएको छ ।

कुनै नागरिकले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा योगदान गरेको रकम त्यो वर्षको आय गणना गर्दा लाग्ने करमा घटनाउन पाउने गरी छुटको व्यवस्था गरेको छ । पुनर्कर्जा कोषलाई तत्काल ६० अर्ब बनाएर त्यो कोषको रकम कोभिड १९को संक्रमण धेरै देखिएको क्षेत्रमा कर्जा प्रवाह गर्ने ,बैक तथा वित्तिय संस्थाका कोरोना प्रभावित ऋणीले चैत्र मसान्तमा तिर्नुपर्ने सावाँ र व्याजको भुक्तानी २०७७ साल असार मसान्त सम्म कायम गर्ने लगायत बैकिङ क्षेत्रका लागि राष्ट्रबैकले अलग्गै निर्णय गरेको जानकारी अर्थमन्त्री खतिवडाले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्