Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/२० गते

काठमााडौं । सरकारले दोस्रोपटक थप गरिएको लकडाउनको म्याद सकिएपछि लकडाउनलाई केही खुकुलो पार्ने संकेत गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले चैत्र २५ गतेपछि लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको हो । सरकारले ठूला उद्योग र कलकारखानाहरुले चैत्र २५ पछि काम शुरु गर्न चाहेमा अनुमति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी उद्योग खोल्दा कामदारलाई भने उद्योगले नै निश्चित स्थानमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने निर्णय वैठकले गरेको छ ।

अहिले कृषि क्षेत्रमा हिउँदे बाली टिप्ने र बर्खे बाली लगाउने समय भएकाले भीड जम्मा नहुने गरी कृषि कार्य गर्न अनुमति दिन स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय पनि वैठकले गरेको छ ।

यस्तै ठूला परियोजनाहरुले पनि बाहिरबाट कामदार नलैजाने शर्तमा काम शुरु गर्न सकिने मन्त्री खतिवडाले बताउनुभयो ।

उच्चस्तरीय समिति वैठकले नेपाल भारत सीमामा रोकिएका दुवै देशका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्र स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्