Paschim News

प्रकाशित : २०७७/१/८ गते

प्रकाश सापकोटा
कोपनहेगन । ‘हामीले यस अवसरलाई सोचेजसरी मनाउन त पाएनौँ तर मलाई विश्वास छ हामी लाखौं डेनिस जनताले आआफ्नो घरका मुख्य कोठामा राष्ट्रिय झण्डा फहराउनुहुनेछ र हाम्री महारानीलाई भव्य बधाई दिनुहुनेछू’ डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रेडेरिक्सनले एकाबिहानै सामाजिक सञ्जालमार्फत दिनुभएको अभिव्यक्ति हो यो।

अप्रिल १६ का दिन पर्ने डेनमार्ककी महारानी मेग्रेथ द्वितीयको यसपाली ८०औँ जन्मदिन अझ विशेष तरिकाले मनाउन राजदरबार तम्तयार थियो। तर, कोरोना महामारीको संकटले विश्वलाई बिचलित बनाउँदा महारानीको जन्मोत्सवलाई पनि असर नपार्ने कुरै रहेन।

अप्रिलको २ तारिखदेखि जुनको पहिलो सातासम्म नै जन्मोत्सवका विविध गतिविधिले महारानीप्रति शुभकामना व्यक्त गर्ने लामो कार्यसूची बनिसकेको थियो। अप्रिल १५ र १६ त दरबार झिलिमिली अनि पूरा देश उल्लासमय हुनेवाला थियो।

८० औँ जन्मदिन विशेष र भव्य हुनेवाला नै थियो। यो अवसरलाई अझ भव्य बनाउन अन्तर्राष्ट्रिय पाहुनालाई समेत आमन्त्रण गरिसकिएको थियो। नेदरल्याण्ड्सका राजारानी र राजकुमार, बेल्जियमका राजारानी लगायात अन्य युरोपेली अतिबिशिष्ट पाहुनाको सहभागिता पक्कापक्की भइसकेको थियो। दरबार स्रोतमार्फत जन्मोत्सवका औपचारिक कार्यक्रम घोषणा गरिसकिएको थियो। अचानक बिश्व परिस्थिति सर्लक्कै उल्टियो र डेनमार्ककी महारानी, राजपरिवार र देशभर फैलँदै गरेको उल्लासमा पनि पूर्णविराम लाग्यो। योजनाहरु भताभुङ्ग भए ।

अचानक कोरोना भाइरसको महामारीले विश्वलाई त्राहिमाम बनाएपछि देश लकडाउनमा रहेका बेला महारानी मेग्रेथले इतिहासमै दुर्लभ देशवासीको नाममा सम्बोधन गर्नुभएको थियो ९सामान्यतया डेनमार्कमा रानीबाट वर्षमा एकपटक नयाँ बर्षको अवसरमा शुभकामना सम्बोधन मात्र सुन्न पाइन्छ०। सम्बोधनमा महारानीद्वारा आफ्ना जनतालाई सचेत, संयम, अनुशासित रहन, सरकारको निर्देशन पालना गर्न, सामाजिक दूरीमै एकता कायम गर्दै महामारीको त्रासलाई पराजित गर्न अपिल गरिएको थियो। त्यसको केही दिनमा आफ्नो जन्मोत्सवका सम्पूर्ण सुचिकृत कार्यक्रमहरु रद्द गरिएको जानकारी सहित हरेक बर्ष जन्मोत्सवमा आफ्ना लागि पठाइने गरेका पुष्पगुच्छा यसपाली आफ्नो परिवार वा छिमेकमा रहनुभएका वयोवृद्ध नागरिकलाई दिएर उहाँहरुको मनोवल बृद्धिमा मद्दत गर्न महारानीबाट अपिल जारी भएको थियो।

सन्सार सुस्ताएका बेला र देश र देशवासीहरु पनि दुखेका बेला जन्मोत्सवको जगजगीमा जुर्मुराउन महारानीको मनले मानेन। दरबारभित्र सञ्चालन गर्ने योजनामा रहेको सांस्कृतिक कार्यक्रम, भोजभतेर सबै स्थगनमा परे। फलस्वरूप महारानी मेग्रेथको जीवनको अनमोल अवसरलाई अर्कै तरिकाले स्मरणीय बनाउन राजदरवारद्वारा नयाँ उपाय अपनाइयो।

डेनमार्ककी महारानीका लागि आफ्नो जीवनकै विशेष दिन अर्थात् ८०औँ जन्मोत्सव पूर्वनिर्धारित कार्यक्रम बमोजिमको भव्य हुन त पाएन तर ऐतिहासिक र स्मरणीय बनाउन डेनिस रोयल कोर्टले केहि फरक उपाय अपनाएको पाइयो। जसमध्ये इतिहासमै दुर्लभ महारानीले आफ्ना प्रथम सुपुत्र राजकुमार फ्रेडरिक र उहाँका छोरा क्रिष्टियनसँग खिचाउनुभएका तस्वीरहरु इन्स्टाग्राममार्फत सार्वजनिक गरियो । राजकुमार फ्रेडरिक र क्रिष्टियन महारानी मेग्रेथपछि क्रमशः देशको राजगद्दी सम्हाल्ने क्रमबद्धतामा पर्नुहुन्छ। ती तस्विर सार्वजनिक भएसँगै यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा ती प्राथमिकताका साथ प्रकाशित र प्रसारित भइरहेका छन्।

यता सरकारी तवरबाट प्रधानमन्त्री मेत्ते फ्रेडेरिक्सनले आफ्नी रानीलाई जन्मदिनको शुभकामना दिनुभयो । सामाजिक सञ्जालमा लामो सन्देश सम्प्रेषण गर्दै फ्रेडेरिक्सनले परिस्थितिको प्रतिकुलतालाई ध्यानमा राखेर सबै नागरिकलाई आ(आफ्ना घरमा राष्ट्रिय झण्डा फहराइएर रानीप्रति सम्मान र गौरव प्रकट गर्न अपिल गर्नुभयो।

जनस्तरबाट पनि सामाजिक सञ्जालमा लगभग १ लाख ८० हजार जना जोडिएका एक समूहमा समूहबद्ध भई रानीको जन्मदिन १६ अप्रिलको दिन करिब चार घण्टा सामूहिक सन्देश तथा गायन मार्फत शुभकामना प्रवाह गरियो।

समग्रमा देशको चहलपहल र उल्लास फरक हुन सक्थ्यो, दरबार झकिझकाउ र रमझम अर्कै हुनसक्थ्यो । युरोप भरिका (अझ विश्वभरिका) मिडियाले छुट्टै र विशेष तरिकाले उक्त अवसरको कभरेज पस्कने अपेक्षा गरिएको थियो। तर परिस्थिति अकल्पनीय भयो, तैपनि अर्कै खाले विशेष अनि अविश्मरणीय भने भयो भन्दा फरक पर्दैन।
डेनिस महारानी मेग्रेथप्रति ८० औँ विशेष जन्मदिनको हार्दिक बधाई तथा शुभकामना !

प्रतिकृया दिनुहोस्