Paschim News

बनिता खनाल प्रकाशित : २०७५/४/१७ गते

स्वास्थ्य ठिक भएको भए अवस्य जान्थें पोखरा साहित्यिक मेला हेर्न ।

 

ठुलो इच्छा थियो, तर स्वास्थ्यले निकै कम साथ दिन्छ मलार्इ । एक त काम्ने रोग त्यसमाथि अलि अलि नर्भस भएर शरीर ब्यालेन्स नभएर लड्ने डर । त्यसैले यस्ता भिडहरुमा म कमै सामेल हुन्छु ।

 

यदि सञ्चै हुन्थें भने सायद प्यानलमा नै हुन्थें, नभए पनि दर्शक भएर प्रश्न त सोध्न पाउथेँ । खैर हुन नसक्ने कुराको आश गरेर दुःखी हुन धेरै अगाडि नै छोडिसकें । जीवनमा कोही पनि पुरै खुसी त हुदैनन्, म पनि सधैं दुःखी कहाँ हुन्छु र ?

 

पोखरा नगए पनि युट्युबमा हेरेर चित्त बुझाएँ । मलार्इ यसपालीको मेलामा बोल्नुभएका मध्ये २ जनाको प्रस्तुति एकदमै मन पर्यो । एकजना त पल्पसा क्याफेका लेखक नारायण वाग्ले र अर्का मुटुरोग बिशेषज्ञ रामेश कोइराला ।

 

एकबर्ष अगाडि ठमेलको एउटा ट्राभल एजेन्सीमा काम गर्दा मैले दिनहुँजसो नारायण वाग्लेलार्इ दरबार मार्गतिर हिडेको देख्थें । सेतै कपाल फुलेका, साधारण नेपाली लोग्नेमान्छे भन्दा अलिकति बढी उचार्इका उनी फटाफट पछाडि झोला बोकेर आफ्नो गन्तब्यतिर लम्किरहेका हुन्थे । कति पटक त एकअर्का कै नजिकैबाट हामी पास पनि भएका थियौं  । तर कहिल्यै पनि उनलाई बोलाएर, नारायण जी, म बनिता, तपाइको फ्यान भन्ने हिम्मत भएन र यसको कारण मेरो स्वास्थ नै हो । नर्भस भैहाल्छु अनि डराइ डराइ किन बोल्नु पर्यो र भनेर आफ्नो मन खुम्च्याएर हिड्थें ।

 

यस्तैमा एकदिन एउटा किताब बिमोचन कार्यक्रममा उनले लेखकसँग अन्तरक्रिया गरेका थिए । भाग्यबस म पनि त्यस कार्यक्रममा उपस्थित थिए । त्यो कार्यक्रममा बोलेका मध्ये सबैभन्दा रमाइला, मजाकिला र विद्वान उनि नै लाग्यो मलार्इ । अनि त के चाहियो, त्यस दिनदेखि यता जहाँ उनको नाम देख्यो त्यहाँ मेरो ध्यान गैहाल्छ ।

 

नेपाल लिटरेचर फेस्टिबलको उनको सेसन छुट्टाउने कुरै भएन । बुद्धिसागर र नारायण वाग्ले उस्तै कुर्सीमा, एउटा स्टेजमा एकैखाले प्रश्नको सामना गर्दै थिए तर दुर्इ जनामा जमिन आकाशको फरक थियो । नारायण वाग्ले केही सिक्न आएका थिए भने बुद्दिसागर केही भन्न । मदन पुरस्कार पाइसकेका उनमा घमण्ड भन्ने कुरा कत्ति पनि देखिदैन थियो । साधारण दौरा सुरुवाल लगाएका उनलाई देखेर सिम्पल लिभिंग हाइ थिङ्कीङ  जीवन्त लाग्छ । लवज मात्र होइन, उनको प्रत्येक हाउभाउले  केही भनिरहेको थियो । उनले भनेका राम्रा कुरा मध्ये सबैभन्दा मन परेको चाहिँ म भन्न होइन, सिक्न लेख्छु । अनि अर्को उनले भनेको गहकिलो कुरा नेपालमा लेखक मात्र बनेर जिन्दगी जिउन गाह्रो छ । साइडमा आम्दानीको स्रोत हुनुपर्छ । पछिल्लो समय उनले पनि मलाइ ट्वीटरमा फलो गरेका छन् । एउटा फ्यानलाई यो भन्दा बढी के चाहियो ।

 

अब कुरा गरौ डा. रामेश कोइरालाको, उनलार्इ मैले ट्वीटरबाट नै चिनेकी हुँ । हिमाल म्यागेजिनमा उनको एउटा लेख आएको थियो, त्यसैको बिषयमा  हाम्रो छोटो कन्भर्सेसन भएको थियो । पछि उनले पासपोर्टका बारेमा लेखेको ब्लग सारै मन परेको थियो । पोखरा जानुभन्दा अगाडि उनले ट्वीटरमा आफुले गर्न लागेको अन्तरक्रियाका बारेमा प्रश्न मागेका थिए । सासकको जवाफदेहिता बिषय थियो । यस्तो बिषयमा प्रश्न कसरी गर्लान् र भन्ठानेकी थिएँ । बोरिङ हुन्छ होला अन्तरक्रिया जस्तो लागेको थियो तर उनले त माहोल नै रमाइलो बनाए । दर्शकले त भरपुर इन्जोइ गरे साथसाथै स्टेजमा हुने प्यानलले पनि कम रमाइलो गरिरहेको  थिएन ।

 

यी त भए मलार्इ मन परेका कुरा, चित्त नबुझेका केहि कुरा पनि छन् ।

 

महिला लेखकहरुका सेसन धेरै सिरियस खालका र, प्रश्न उत्तर ले भरिपूर्ण थिए । न उनीहरू आफु हाँस्थे, न अरुलाई हँसाउथे । मानौं आयोजकले उनीहरुलाई नहाँस्ने आग्रह गरेका थिए । जतिसक्यो आफुलाई लागेका कुरा जोडतोडले प्रस्तुत गर्थे, मानौ मौकामा चौका हान्दै थिए । यस्तो किन ?  किन महिला लेखकहरु पनि नारायण वाग्ले र डा. रामेश कोइराला जस्तै रमाउँदैनन् या रमाएका जस्तो देखिएनन् र ? किन उनीहरूले हामीलाई हँसाउन सकेनन् ? साँच्चिकै नारायाण वाग्लेको तुलनामा आउन सक्ने नेपाली महिला कोही छैनन् ?

प्रतिकृया दिनुहोस्