Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/४/१७ गते

काठमाडौं, १० कात्तिक ।

नेपालमा आइस हक्की रिंक बनाउन अन्तर्राष्ट्रिय आइस हक्की महासंघ तयार देखिएको छ ।

 

महासंघका कोषाध्यक्ष तथा फ्रेञ्च आइस हक्की संघका अध्यक्ष लुक टार्डिफले नेपालमा आइस हक्की रिंक निर्माण गर्ने विषयलाई लिएर युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई भेटेका छन् ।

 

सबैले भेटमा आइस हक्की खेलको विकासका लागि सबै क्षेत्रले अन्तर्राष्ट्रिय आइस हक्की महासंघसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका टार्डिफले जनाए । अन्तर्राष्ट्रिय आइस हक्की महासंघले नेपालमा छिट्टै आइस रिंक निर्माण प्रक्रिया सुरु गर्नका लागि आवश्यक प्राविधिक सहयोग गर्ने बताएको छ ।

 

पाँच दिने भ्रमणमा नेपाल आएका टार्डिफले आइस रिंक बनाउने सम्भावित स्थानको अध्ययनका लागि पोखरा र धुलिखेलको भ्रमण गरेका थिए । उनले पोखरा उपयुक्त स्थान रहेकाले त्यसका लागि अन्तर्राष्ट्रिय आइस हक्की महासंघले प्राविधिकलगायतको सहयोग गर्ने बताए ।

 

उनले रिंकको नक्शा तयार गरेर नेपाल आइस हक्की संघलाई पठाउने बताए । ‘छिटो भन्दा छिटो नेपालमा रिंक बनोस् भन्ने हाम्रो चाहना छ । हामीले जग्गा हेरेका छौं । त्यसमा कस्ता रिंक निर्माण गर्न सकिन्छ भन्ने तयारी गरेर नक्सा पठाउने छौं । अन्य कार्य यहाँबाट शुरु गर्नुपर्ने छ,’ उनले भने ।

 

युवा तथा खेलकुद मन्त्री श्रीपालीले नेपालमा आइस हक्की रिंक निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बचन दिए । ‘हामीलाई प्रोजेक्ट तयार पारेर दिनुस्, हामी त्यसका लागि तत्काल पहल गर्दछौं । पर्यटक र नयाँ पुस्तासँग समेत जोडिएको आइस हक्की रिंक निर्माण गर्नका लागि सरकारले सहयोग गर्ने छ,’ मन्त्री श्रीपालीले बताए ।

 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले सगरमाथाको देशमा आइस रिंक बन्नु गौरवको कुरा भएको बताए । उनले नेपाल र फ्रान्सबीच खेलकुद सम्बन्ध विस्तार गर्नुपर्ने समेत औल्याएका थिए ।

 

भेटघाटमा नेपाल ओलम्पिक कमिटीका सदस्य निलेन्द्रराज श्रेष्ठ, नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय आइस हक्कीले नेपाललाई प्राविधिक सहयोग गर्ने जनाएसँगै खुसी ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्