Paschim News

रासस प्रकाशित : २०७५/४/१८ गते

रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढल्नुभयो । रक्तचापको समस्याले अचेत भएर ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उहाँलाई कोमामा ( अचेत अवस्था ) राखेर उपचार गरिएको थियो । 

 

दुई हप्तापछि सामान्य होसमा आउनुभएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उहाँ अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहनुभएको छ । 

 

घरखर्च जुटाउन प्रवास पुग्नुभएका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उहाँको घरपरिवार चिन्तित बनेका छन् । कुबेतको कुक्जे कम्पनीमा कार्यरत रहेका किसान प्रवासमै थलिएपछि घरपरिवारको गुजारा चलाउने सपना भताभूङ्ंग भएको छ । दुई वर्षदेखि उक्त कम्पनीमा कार्यरत उहाँको उपचारमा लाग्ने खर्च अहिलेसम्म कम्पनीले नै व्यहोरेको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका कमल भण्डारीले जानकारी दिनुभयो । 

 

‘‘ किसानको स्वास्थ्यमा सामान्य सुधार आएपछि कम्पनीले घर पठाउने तयारीमा थियो, हामीले उनको पूर्ण उपचार यही गरेर मात्रै नेपाल पठाउने भनेका छौं, उहाँलाई नियम अनुसारको सहयोग गर्न कम्पनीले स्वीकारेको छ, स्वास्थ्यमा क्रमिक सुधार आएकाले छिट्टै घर पठाउन सक्छौँ भन्ने लागेको छ ’’–भण्डारीले भन्नुभयो । 

 

उहाँका अनुसार, बिरामी भएपछि लामो समयसम्म बोल्नसमेत नसक्ने अवस्थाका किसान अहिले सामान्य बोल्न सक्ने भए पनि अझै पूर्ण रुपमा स्मरणशक्ति फर्किसकेको छैन् । यता अस्पतालमा उपचाररत किसानको उपचार र उहाँलाई सहज रुपमा नेपाल पठाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुबेतले समेत चासो दिएको छ । 

 

मोना कुबेतका संयोजक प्रेम विश्वकर्मा, महासचिव चन्द्र विश्वकर्मा, कोषाध्यक्ष कुष्णबहादुर खड्काले अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । बीमा बापतको क्षतिपूर्ति लिन दूतावाससँग आवश्यक पहल गरिएको आग्रह गरिएको मोना कुबेतका महासचिव विश्वकर्माले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस्