Paschim News

प्रकाशित : २०७५/६/१० गते

काठमाडौं । भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

भूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरु कष्टसाथ अस्थायी टहरामा पठन–पाठन गर्दै आएका थिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर हस्तान्तरण गरेको हो । अब यस प्रक्रियाले निरन्तरता पाउने इकाईले जनाएको छ । 

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विद्यालय भवनको पुनर्निमाणका लागि इकाईले २०७४ मंसिर २५ गते सम्झौता गरेको थियो । इकाईले एक करोड सात लाख पाँचहजार दुईसयमा आठकोठे दुईतले अत्याधुनिक भवन र शौचालय निर्माण गरिदिएको हो । 

विद्यालयमा आयोजित भव्य कार्यक्रमका बीच जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझीले विद्यालयका प्रधानाध्यापक माधव गौतमलाई विद्यालय भवन हस्तान्तरण गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले भूकम्प प्रभावित मध्ये काठमाडौंकै पहिलो विद्यालय भवन हस्तान्तरण विद्यामन्दिर मावि बाट शुरु हुनु सकारात्मक विषय भएको बताए । अस्थायी टहरामा कष्टसाथ हुँदै आएको पठन–पाठन अब  अब नयाँ भवनमा हुनेभएपछि यसले सिकाइ सुधारमा पनि भुमिका खेल्ने मेयर गिरीले आशा यक्त गरे । यो क्षेत्रकै पुरानो विद्यालयले नयाँ भवन पाएको छ– गिरीले भने, अब शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत होस् । 

नवनिर्मित विद्यालय भवन हस्तान्तरण गर्दै आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझीले माघ १५ मा निर्माण सम्पन्न हुनुपर्ने विद्यालय भवन ४ महिना ६ दिन १३ घण्टा छिटो हस्तान्तरण गर्न आफूहरु सफल रहेको बताए । यो एउटा गतिलो शुरुवात मात्रै भएको र यही महिना बाट भटाभट नवनिर्मित विद्यालय भवन हस्तान्तरण अभियान शुरु हुने रायमाझीले स्पष्ट पारे । 

म बोलीमा होइन काममा विश्वास गर्छु– भन्दै निकै छाेटो मन्तव्य राखेका रायमाझीले अब काठमाडौंमा बालबालिकाहरुको छिट्टै अस्थायी टहरामा पढ्नुपर्ने बाध्यता अन्त्य हुने जिकिर गरे ।

हिजो के भयो मलाई थाहा भएन इकाईमा म आएपछि काममा तिव्रता आएको छ, उनले भने– यहाँ जस्तै अन्य विद्यालयहरुमा पनि निर्धारित भन्दा छिटो भवनहरु निर्माण भइरहेका छन् । 

विद्यालयका प्रधानाध्यापक माधव गौतमले यसअघि भौतिक पुर्वाधारको जोगाडमा धेरै ध्यान दिनुपरेको भएपनि अब भवन पाएपछि सिकाइ सुधारमा मात्रै केन्द्रीत हुने जानकारी दिए । 

भूकम्पपछि यसवर्ष निर्माण सम्पन्न भएको यही विद्यालय भएको इकाईले जनाएको छ ।

ईकाइले विभिन्न मोडलमा विद्यालय भवनको पुनर्निर्माण गर्दै आएको छ । यसवर्ष विद्यालय व्यवस्थापन समिति मार्फत ३९ वटा, एसियाली विकास बैंक मार्फत ११, युएसआइी मार्फत २ र एउटा चाइनिज राजदुतावास मार्फत ५३ विद्यालय पुनर्निर्माण सम्पन्न कार्यान्वयन भइसक्ने इकाईले जनाएको छ । 

सेतीदेवि मावि दक्षिणकाली–९ र श्रीकृष्ण मावि दक्षिणकाली–८ को भवन पुननिर्माण सम्पन्न भइसकेकाले आगामी असोज १२ गते विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यान्वयन इकाईले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस्