Paschim News

प्रकाशित : २०७५/६/१८ गते

हिट्स नेपाल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको हिट्स एफएम म्युजिक अवार्डस् यस वर्ष पनि हुने भएको छ।

जसअन्तर्गत २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा हिट्स एफएम ९१.२ मा दर्ता भएका गीत तथा एल्बमबाट हरेक विधामा उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ।

२२औं हिट्स एफएम म्युजिक अवार्डस्–२०७५ मा नीतेशजंग कुँवरको हाम्रो नेपालमा, १९७४ एडीको पीरै पीर, वास्तु सांगीतिक समूहको हावा चल्यो, दीप श्रेष्ठको स्वर रहेको सम्पत्ति दिए बोलको गीत ५ विधाको मनोनयनमा परेका छन्।

त्यसै गरी सांगीतिक समूह आरके स्क्वायर ४ विधामा मनोनित हुँदा द एक्ट सांगीतिक समूहको हराएको तथा बानिका प्रधानको जानी नजानी बोलको गीत पनि ४ विधाकै मनोनयनमा पर्न सफल भएको छ।

गायक विश्व नेपालीको तिरी किटी ताका ३ विधाको मनोनयनमा छ भने गायक नवीन के भट्टराई, जेम्स प्रधान, लोचन रिजाल, शिव परियार र सञ्जीव पराजुली २ विधाको मनोनयनमा छन्।

फिल्म गीततर्फ भने अर्जुन पोखरेल, दीपक शर्मा, कल्याण सिंह, राजनराज शिवाकोटी र टंक बुढाथोकी मनोनयमा छन्।

सर्वोत्कृष्ट एकल गायक विधामा विश्व नेपाली, दीप श्रेष्ठ, हेमन्त शर्मा, प्रमोद खरेल र शिव परियार मनोनयनमा छन् भने एकल गयिका विधामा बानिका प्रधान, जिना रसाइली, मिलन नेवार, निखिता थापा र संगीता राना प्रधान मनोनयनमा परेका छन्।

लोक गीतको विधामा अन्जान बाबु र प्रतीमा विश्वकर्मा, खड्ग गर्वुजा, खड्ग बुढा, पवित्रा घर्ती मगर र भीमा सुवेदी, नाइट्, राजन ठकुरी र विष्णुमाया गुरुङ र तुलसी पराजुली मनोनयनमा परेका छन्।

२०५२ सालमा आफ्नो स्थापनासँगै २०५४ सालमा ७ विधाबाट शुरु भएको संगीतको यो उत्सवमा हाल १७ विधा रहेका छन्। जसमध्ये एउटा विधा लाइफ्टाइम अचिभमेन्ट अवार्ड रहेको छ।

आगामी मंसिरमा आयोजना गरिने हिरो २२औं हिट्स एफएम म्युजिक अवार्डस्–२०७५ लाई कुनै प्रतिस्पर्धा र होडबाजीभन्दा पनि संगीतको पर्वकै रूपमा विकसित र परिमार्जित गर्दै लगिने आयोजकले जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्