Paschim News

प्रकाशित : २०७५/६/१९ गते

बिद्यालय परिसरमा कुटपिट पछि बेपत्ता बनाइएका शिक्षक मखन केसीको डेढ महिनासम्म पनि अवस्था पत्ता नलाग्दा परिवारमा रुवाबासी चलेको छ ।

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका स्थित आधारभुत विद्यालय पेल्मा २ मा अध्यापनरत शिक्षक केसी बेपत्ता भएको झन्डै डेढ महीना भयो । उहाँको अहीलेसम्म अत्तोपत्तो छैन ।

‘कि सास चाहियो कि लास’ भन्दै आफन्तजनले सदरमुकाम रुकुमकोटमा आन्दोलनका कार्यक्रम सुरुवात गरेका छन् । परिवारजनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएका छन् ।

वास्तविकता सार्वजनिक र दोषि उपर कारबाहि नभए सम्म धर्ना, अनसन र दबाबका चरणबद्ध कार्यक्रम गरिने बताईएको छ । सिस्ने गाउँपालिका वडा नं ६ घर भएका शिक्षक मखन केसी विगत २३ बर्ष देखि सोहि बिद्यालयमा पढाउदै आएका थिए ।

गत श्रावन ३१ गते बिद्यालय परिसरमै स्थानीय केहि व्यक्तिद्धारा कुटिएका शिक्षक केसीको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र भदौ १४ गतेदेखी बेपत्ता बनाईएको परिवारको भनाई रहेको छ ।

घटनाको कारण भने अझै खुल्न सकेको छैन । कुटपिटको आरोपमा सोही गाउँपालिका १० तकका विकास वुढामगर खीन्टेलाई प्रहरीले पक्राउ गरेको र घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको खबर पछि दुई पटकसम्म परीवार आफै खोज्न गएपनि फेला पार्न नसकेको उहाँका दाजु मोहन केसीले बताउनुभयो । बेपत्ता भएको महिना दिन पुग्दा समेत न लास भेटियो न सास, दाजु मोहन केसीले भन्नुभयो – बाध्य भएर आन्दाेलनमा उत्रिनु पर्यो ।

सरकारी पेशामा संलग्न व्यक्ति यसरी बेपत्ता हुदाँ राज्यले खोजि गर्न चासो नदेखाएको बेपत्ता मखनको श्रीमती तुलसी केसीले बताउनुभयो । बेपत्ता शिक्षक केसीका २ छोरी १ छोरा रहेका छन् ।

परिवारजनले खोज्न जाँदा त्यहाको स्थानिय सरकारले वास्ता नगरेको र उल्टै दोषीलाइ संरक्षण गरेको परिवारको आरोप रहेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका २ का वडा अध्यक्ष सतसीङ वुढाले यस घटनाले आफु दुखी भएको र खोजिनीती गरीरहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रनाउ लोकनाथ तिम्सिनाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्