Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१२ गते

संस्थागत विद्यालयका छाता संगठनहरुले विद्यालय बन्दको अवज्ञा गर्ने घोषणा गरेका छन् । आइतबार एक पत्रकार सम्मेलन गर्दै निजी विद्यालयका संगठनहरु प्याब्सन र एन प्याब्सनले उक्त घोषणा गरेका हुन् ।

 

विप्लब निकट विद्यार्थी संगठन सहित विभिन्न विद्यार्थी संगठनहरुले आगामी असार २० गतेबाट गरिने ३ दिने शैक्षिक हड्ताल घोषणा गरेपछि विद्यालय सञ्चालकहरुले उक्त कदम अपनाउन लागेको जनाएका छन् ।

 

नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, प्याब्सनका कार्यवाहक अध्यक्ष डीके ढुंगाना तथा शैक्षिक अभियन्ता अभिषेक घिमिरेद्धारा हस्ताक्षरित संयुक्त प्रेश विज्ञप्तिमा विद्यालय र विद्यार्थीसँग सम्बन्ध नराख्ने विषय समेत राखेर विद्यालय बन्द गर्ने प्रबृत्ति बढेकोले तत्काल वार्ता तथा संवादको प्रकृया अगाडी बढाउन माग राखिएको छ ।

 

विद्यालय शान्ति क्षेत्र घोषणा भएको एक दशक वित्दा पनि ब्यवहारमा नदेखिएकोले यसलाई ब्यवहारमा देखाउनुपर्ने, बालबालिकाहरुको भयरहित वातावरणमा पढ्ने वातावरण र बालबालिकाको मौलिक हकको प्रतिवद्धता कार्यान्वयनमा आउनुपर्ने जस्ता माग राख्दै ती संगठनले शान्ती सुरक्षाका लागि सरकारसँग माग गरेका छन् ।

 

बन्दको परम्परालाई सदाका लागि बन्दको गर्ने परम्पराको विकास गरि विरोधका अन्य परम्परालाई संस्कृतिको रुपमा अगाडि बढाउने बेला भइसकेको प्याब्सनका कार्यवाहक अध्यक्ष डीके ढुंगानाले बताए । कुनै पनि रुपमा विद्यार्थीको पढाइ रोक्ने विषय विद्यार्थी माग हुन नसक्ने वताउँदै उनले विद्यालयको अभिभावक सरकार नै भएकोले हालको शक्तिसाली सरकारले विद्यालयले यो माग पूरा गर्नुपर्ने माग राखे ।

 

विद्यालयले लिने मुल्यको छानविन सरकारको काम भएकोले गल्ती भएका विद्यालयलाई सरकारले कारवाही गर्न सक्ने भएकोले विद्यार्थी संगठनको विषय विद्यालयसँग नभई सरकारसँग हुनुपर्ने एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।

 

पत्रकार सम्मेलनमा विद्यालय बन्दका कार्यक्रमहरु घोषणा गर्ने पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारसँग माग समेत संस्थागत संगठनहरुले राखेका छन् । वार्तामा सबै विद्यार्थी संगठनले हस्ताक्षर गरेमात्र वार्ता सफल हुने भएकोले केही विद्यार्थी संगठनको कुराबाट मात्र आश्वस्त हुन नसकिने संगठनहरुको तर्क थियो ।

 

प्याब्सन अध्यक्ष ढुंगानाका अनुसार हाल पनि कतिपय निजी विद्यालयको लेखाशाखामा तालाबन्दी गरिएको छ ।

प्रतिकृया दिनुहोस्