

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् ।
संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन् ।
पूर्णाका श्रीमान प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् । व्यापारको सिलसिलामा काठमाडौं गएको बेलामा २०७२ सालको भूकम्पमा छोरा अच्यूतराज सुवेदीको मृत्यु भएको थियो ।
बसेको होटल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अच्यूतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन् ।
मालतीका दुई छोरा छन् ।
बुहारीले नै मन पराएको नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी परिवारले विवाह गरिदिएका हुन् ।
शनिबार घरपरिवारका सदस्यले आफन्ती तथा केही नेताहरुको उपस्थितिमा मालतीलाई विवाह गरिदिएका छन् ।
ससुरा प्रकाश सुवेदीले बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि आफूहरुले पनि सहर्ष स्वीकारेर छोरीसरह मानेर विवाह गरिदिएको बताउनुभयो ।
‘समाजमा रहेका रुढीवादी परम्पराहरु तोडेर अघि बढ्नु पर्छ ।
हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौ, प्रकाशले भन्नुभयो, यो उनको खुशीका लागि हो ।’ सुवेदी परिवारले मालतीसँग सम्बन्ध पनि नटुट्ने र उनको खुशी पनि पूरा हुने भन्दै आफ्नै घरबाट विवाहको विधि पुर्याएर अन्माएका थिए ।
दुई नातीको पालनपोषणप्रति चिन्ता गरेका सुवेदी परिवारले मालतीलाई खुशीका साथ बिदाइ गरेका छन् ।