Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/११/७ गते

पर्वत । जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी बनाएका छन् । तीन महिनाको अवधिमा सुनार सहित चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूलो खुकुरी तयार गरेका हुन् । टोलीमा सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विक छन् । दुई लाख खर्च गरेर बनाइएको कुखुरीको उचाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गते बनाउन शुरु गरेका टोलीले माघ २९ गते सम्पन्न गरेका थिए ।

खुकुरी अहिले पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको छ । खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ । “तीन वर्षदेखि ठूलो खुकुरी बनाउने योजना बनाएको थिएँ, फलामको साइज नेपालमा नभेटिएपछि भारतबाट मगाएको हुँ, नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ”, सुनारले भने ।

सुनारले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन् । सामान खरिद र चार जनालाई तीन महिनाको पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले आफ्नो लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

पुख्र्यौलीरूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आउनुभएको छ । उहाँले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई समेत बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् ।

प्रतिकृया दिनुहोस्