Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१३ गते

दिपेन्द्र गजुरेल
स्पेन । नोवेल कोरोना भाइरस (कोभिड१९) का कारण स्पेनका वृद्धवृद्धाहरुले आश्रममा शवसँगै रात बिताउने गरेका छन् । कोरोना भाइरसको महामारीले विशेष गरी वृद्धाश्रममा ठूलो संख्यामा मानवीय क्षति पुर्याएको छ । यही मार्च १६ सोमबार म्याड्रिडको एक (मोन्ते एर्मोसो) नाम गरेको वृद्वाश्रममा एकै दिन २० जनाको मृत्यु भएको थियो भने ७५ जना संक्रमित भएको अनुमान गरिएको थियो।

स्पेनभर सबैजसो शहरका वृद्धाश्रमहरुमै मृतकको संख्या बढेको देखिएको छ। तथ्यांक अनुसार मृतकहरु मध्ये ८७ दशमलव ५० प्रतिशत ७० वर्षभन्दा बढी उमेरका र दीर्घरोगी भएको बताइएको छ तर सबै वृद्ध र दीर्घरोगी मात्रै पनि हुँदैनन् भन्ने कुरा पनि ३७ देखि ३९ वर्षीय स्पेनी सुरक्षाकर्मीहरुको समेत मृत्युले प्रमाणित गरेको छ । करिब २ हजार जना स्वास्थ्यकर्मी समेत संक्रमित भएको कुरा पनि पुष्टि भएको छ ।

९ फेब्रुअरीमा एक जनालार्इ मायोर्कामा पहिलो व्यक्तिलाई कोरोना भाइरस पोजिटिभ भेटेपछि २४ फेब्रुअरीमा कानारिया टापुको तेनेरिफेमा दोस्रो संक्रमित व्यक्तिलाई फेला पारेको थियो भने स्पेनकै भ्यालेन्सिया शहरमा १३ फेब्रुअरीमा नेपाल भ्रमण गरेर फर्किएका स्पेनी नागरिकको ३ मार्चमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गर्दै खबर सार्वजनिक भएको थियो ।

भ्यालेन्सियामा मृत्यु भएका भनिएका व्यक्ति स्पेनस्थित नेपाली राजदुताबासबाट भिषा नलिई विभिन्न मुलुक हुँदै नेपाल घुम्न गएको बताइएको भए तापनि उनी नेपालमा कति दिन बसेका थिए ? कुन होटलमा बसेका थिए ? कहाँ कहाँ गएका थिए त्यसको कुनै जानकारी नै नभएको दुताबासले जनाएको छ ।

नेपालमा कोरोना भाईरस रोक्नका लागि दुताबासले मृतकको बारेमा स्पेनको मन्त्रालयममा पत्रचार गरेको भएपनि गोपनियता भङ्ग गर्न नमिल्ने भएकाले दुताबासलाई अविश्वास गरेर जानकारी नदिएको हुन सक्ने श्रोतले बतायो ।

कोरोना भाइरसको संक्रमण बिस्तारै फैलिदै गएपछि मृतकको संख्या बढ्दै गएको छ । स्पेन सरकारले १५ मार्चबाट १५ दिनको लागि संकटकालको घोषणा गर्दै स्पेनभर भएका सम्पूर्ण निजी हस्पिटल संकटकाल समय अवधिभर सरकारले आफ्नो मातहतमा प्रयोग गर्ने र स्वास्थ्य क्षेत्रमा सबै प्रान्तलाई केन्द्रले नियन्त्रण गर्ने गरी संक्रमित रोक्ने प्रयास समेत गरेको थियो ।

दोस्रो दिन संक्रमितको संख्या ह्वातै ९१९२ पुग्यो भने ३०९ जनाले ज्यान गुमाएका थिए। स्पेनमा सबै शहरको तुलनामा राजधानी म्याड्रिडमा सबैभन्दा बढी संक्रमित र मृत्युदर उच्च रहेको छ। संक्रमित र मृत्युदर दिनानुदिन बढ्दै गएपछि सरकारले पुनः थप २२ मार्चको दिनसम्मलाई संकट्काल लम्बायाउदै १५ दिनको लागि बढाउने फैसला समेत गरेको छ भने यो अवधि अप्रिल ११ गते सम्म रहने प्रधानमन्त्री पेद्रो सान्चेसले एक टेलिभिजन कार्यक्रममा बताउनुभएको छ ।

यो अवधिमा जनतालाई अत्यावश्यक सामानहरु किनमेल र अनुमति भएका कामदारहरु बाहेक पूर्णरुपमा घरभित्र बस्नु पर्ने र यदि कोही आफ्नो काममा जानु पर्ने छ भने पनि आफ्नो काम गर्ने कम्पनीबाट प्रमाणपत्र लिएर मात्रै हिड्नुपर्ने छ भने यो नियमलाई अवज्ञा गरेकोमा ४ महिनाको जेल सजाय समेत सुनाइसकेको छ । यस्तै नियम विपरी गतिविधि गर्नेलाई ६ सय यूरो सम्मको जरिबाना पनि हुन सक्ने बताईएको छ ।

त्यस्तै संक्रमितहरूको उपचारमा खटिने स्पेन स्वास्थ्यकर्मी बढी मात्रामा संक्रमित हुने देशमा पहिलो नम्बरमा परेको छ जहाँ १३ दशमलव ५ प्रतिशत स्वास्थ्यकर्मी संक्रमित समेत भएका छन् । कोरोना भाइरसको शुरू भएको चीनमा जम्मा ४ प्रतिशत स्वास्थ्यकर्मी संक्रमित भएका थिए भने इटालिमा ९ खदमलव ५ प्रतिशत छन्। स्पेनमा स्वास्थ्य सामग्रीको अभावले गर्दा सबै भन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएको कुरा स्वास्थ्य विज्ञले बताएका छन् ।

च्रीनमा मृतकको संख्या ३ हजार ४ सय चारजना थियो भने स्पेनमा मंगलबार र बुधबार २४ घण्टामा ७३८ जनाले ज्यान गुमाएसँगै बिहीबारसम्म ३ हजार ६ सय ४७ जनाले ज्यान गुमाई सकेका छन् ।

अहिलेसम्म जम्मा संक्रमितको संख्या ४९ हजार ५सय १५ जना छन् । उपचारपछि निको भई ५ हजार ३ सय ६७ जना घर फर्किएको जनाइएको छ ।

मृत्युसँग ३ हजार १ सय ६६ जनाले संघर्ष गरि रहेका छन् । स्पेनका रक्षामन्त्री मार्गरिता रोब्लेले वृद्धाश्रमहरूमा बुढाबुढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएको डरलाग्दो खुलासा गरेपछि आश्रमहरुमा सुरक्षाफौजले ब्यापक छापा मारेर सर्च अभियान चलाएको बताइएको छ । स्पेनमा नेपालीहरू सुरक्षित छन् । नेपाली राजदुत दावाफुटी शेर्पास्पेनमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म कोही पनि संक्रमित नभएको बताउनुहुन्छ ।

राजदुत शेर्पा भन्नुहुन्छ, स्पेनमा भएका सबैलाई सुरक्षित घरमै बस्न र संक्रमित भए नियोगमा खबर गर्न सूचना प्रवाह भइरहेको छ । स्पेनमै लामो समय सामाजिक सेवामा लाग्दै आएका एनआरएनए ग्रान क्यानरियाका निवर्तमान अध्यक्ष गगन कुवँरले कुनैपनि नेपालीलाई हस्पिटल वा अन्य अत्यावश्यक काममा भाषा तथा अन्य केही आपत् परेमा प्रवासमा हामीले हात्तेमालो गर्नुपर्ने त्यस्तो खबर आएमा आफूले सम्भव भएसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै एनआरएनए पूर्व युरोप उपसंयोजक तथा लुम्बिनी फाउण्डेशनका महासचिव एवम् स्पेन पर्यटन प्रतिनिधि एकराज गिरीले नेपाली समुदायलाई घरमै बसेर स्पेन सरकारलाई सहयोग गरी आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ । स्पेनस्थित रहेको नेपालीहरूको अभिभावक राजदूताबासले अन्य राष्ट्रका नियोगले जस्तै नेपाली समाजसँग समन्वयन गरेर राजदुतबाट सक्रिया देखाउनु पर्ने समय आएको गिरीको भनाइ छ ।

यस्तै क्षेत्री समाज स्पेनका संयोजक सोनु राउत कुनैपनि नेपालीले आपत विपतमा प्रवासमा साहारा खोज्ने भएकाले त्यसका लागि आफूले संस्थागत रूपमा अभियान चलाएको दावी गर्नुभयो । स्पेनमा रहेका डेढ दर्जन सामाजिक संघ संस्थाले विज्ञप्ति निकाल्दै सान्त्वना दिन थालेका छन् ।

प्रतिकृया दिनुहोस्