राजा महेन्द्र सिकारमा ज्यादै सोखिन थिए। कतिसम्म भने विदेश भ्रमणमा गएका बेला पनि सिकार खेल्न सरकि भइहाल्थे। अमेरिकाको औपचारकि भ्रमणमा गएका बेला अलास्कासम्म पुगेर सिकार खेलेको मलाई सम्झना छ। स्वदेशमा पनि बेलाबेला दलबलसहित सिकार खेल्न काठमाडौँबाहिर जाने गर्थे।
विसं २०२२ को कुरा हो। त्यति बेला म परराष्ट्रमन्त्री थिएँ। राजा महेन्द्रले भने, “हिँड सिकार खेल्न जाऊँ।” ठूलै दलबलसहित हामी महाकालीको शुल्काफाँटामा सिकार खेल्न पुग्यौँ। राजा महेन्द्रका साथ प्रहरीका पिपादेखि सेनाप्रमुख, सरकारी सेवाका उच्चपदस्थ पदाधिकारी, डाक्टर, नर्स आदिको ठूलै भीड थियो।
सिकार खेल्ने कुरा गर्दा मानिसहरू जंगलमा गएर बाघको पिछा गर्दै जाने र सिकार गर्ने भन्ने ढंगले बुझ्दा रहेछन्। तर, राजाहरूको सिकार खेल्ने तरकिा त्यस्तो हुँदैनथ्यो। राजाका लागि भनेर विशेष व्यवस्था गरिएको हुन्थ्यो। शुक्लाफाँटाको ठूलै एरियामा सवारी शिविर कायम गरिएको थियो।
सेतो कपडाले एउटा एरियालाई घेरेर भित्र खसी-बोका छोडिएको थियो। जब ती खसी-बोका खान बाघ भित्र पस्थ्यो, ऊ बाहिर निस्कनै नसक्ने व्यवस्था गरिएको हुन्थ्यो। यसरी तयारी गरसिकेपछि राजालाई सिकारका लागि आमन्त्रित गरिन्थ्यो।
शुक्लाफाँटाको बीचमा रूखहरूका हाँगामा विशेष किसिमको मचान बनाइएको थियो। एक किसिमले मञ्चकै रूपरंगमा त्यसलाई सजाइएको थियो। त्यहाँ एउटा मात्र चकला बिछ्याइएको थियो, जहाँ राजा महेन्द्र बसेर बाघको प्रतीक्षा गररिहेका थिए। उनका वरपिर हामीहरू बसिरहेका थियौँ। राजाका एडीसी शेरबहादुर मल्ल पनि त्यहीँ थिए।
यत्तिकैमा अचानक राजा महेन्द्र ढले। सबै किंकर्तव्यविमूढ भए। मैले आफ्नो पाखुराको सिरानी लगाइदिएँ। चिटचिट पसिना आएको अवस्थामै राजा महेन्द्रले भने, “हेर कीर्तिनिधि ! मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ। म मरे पनि मेरो देश बाँचिरहोस्।” अगाडि केही भन्न खोजिरहेका थिए तर तत्कालै अचेत भए, मूच्र्छा परे।
त्यहाँ त खैलाबैला मच्चियो। राजा मूच्र्छा परेको अवस्थामा मेरो हालत के भयो होला ? म त्यो अवस्थाको कल्पना पनि गर्न सक्दिनँ। म त पूरै पानी पानी भएको थिएँ। बोल्न खोज्छु, वाक्य नै फुटिरहेको थिएन। के गरौँ, कसो गरौँको अवस्थामा हामीसँगै गएका ज्यादै अनुभवी बंगाली डाक्टर हल्डरले तत्कालै हेपारनि नामक इन्जेक्सन राजाको पाखुरामा लगाइदिए। अनि, राजालाई केही आराम भएको महसुस गर्यौँ। तर, राजाको होस भने खुलेन, अचेत अवस्थामै लडिरहे।
अब रूखको हाँगामा निर्माण गरिएको त्यो मचानबाट राजालाई तल ओराल्नु थियो। अचेत अवस्थामा रहेका राजालाई तल ओराल्न कम्ती सकस भएन। हेपारनि इन्जेक्सनको प्रभाव हुनुपर्छ, राजाको अनुहारमा आशाका किरण देखापर्न थाले। त्यसपछि तुरुन्तै हामीले मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डेलाई बोलायौँ। अन्य डाक्टरहरू पनि आए। त्यसपछि हामीले सल्लाह गर्यौँ, अमेरिकी राष्ट्रपति आइजनहावरका विशेष चिकित्सक डा मेटिङ्गलाई बोलाउने। किनभने, पटक-पटक हृदयाघात भएका हावरलाई उनले नै बचाएका थिए। केही दिनको अन्तरालमा उनी आइपुगे।
केही दिनपछि हामीले राजा महेन्द्रलाई कैलालीको पूर्वी क्षेत्र टीकापुर ल्यायौँ। त्यहाँ कर्णाली नदीको किनारमा उनका निम्ति भनेर काठको एउटा कुटी निर्माण गरेका थियौँ। जो अहिले पनि त्यहाँ छ। त्यहाँ करबि एक महिनासम्म राजाको स्वास्थ्योपचार भयो। जब आराम भयो, टीकापुरवासीको हर्षको सीमा थिएन।
त्यसपछि त त्यहाँ हरेक दिनजसो कविगोष्ठी र सांस्कृतिक कार्यक्रमहरू हुन थाले। एक दिन त्यस्तै कविगोष्ठीका अवसरमा एउटा रेकर्ड गरिएको गाना सुनाइयो, जुन गाना रानी रत्नले रचना गरेर गाएकी रहिछिन्। त्यस गीतले त्यहाँको वातावरणलाई धेरै नै रमाइलो बनाएको कुरा मलाई सम्झना छ। त्यहाँ उपस्थित धेरैले आफूले रचना गरेका कविता सुनाएका थिए।
डा मृगेन्द्रराज पाण्डे, डा सच्चेकुमार पहाडी, लक्ष्मण पौड्याल आदिले कविता सुनाएका थिए। हृदयाघात हुँदाको वेदनापूर्ण अवस्थाबाट पीडित हुँदा राजा महेन्द्रका विषयमा मैले पनि एउटा कविता कोरेको थिएँ। जब मैले त्यो कविता त्यहाँ सुनाएँ, रानी रत्नका आँखा भरिएर आए। त्यसपछि रानी रत्न पूरा कविता सुन्न नसकेर त्यहाँबाट बाहिरिएकी थिइन्।
राजा महेन्द्रले आफ्नो शिर मेरो पाखुरामा अड्याएर ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने जुन उद्गार व्यक्त गरेका थिए, त्यसलाई मैले पछि काठमाडौँ, टुँडिखेलमा एउटा कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेँ।
सायद राजा महेन्द्रको त्यही देशभक्तिपूर्ण भावनाबाट ओतप्रोत भएर लक्ष्मण लोहनीले गीत नै लेखे, ‘म मरे पनि मलाई मेरो देशको माया छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ।’ चन्द्रराज शर्माले संगीत भरिदिएको त्यो गीत जब नारायणगोपालको स्वरमा म सुन्छु, मलाई त्यही घटनाको याद ताजा भएर आउँछ। आँखा रसाउन पुग्छन्।
–नेपाल साप्ताहिकबाट