Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२५ गते

काठमाडौं । नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ ।

हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि शुरु गरेर माघ शुक्ल पूर्णिमासम्मको अवधिमा श्रीस्वस्थानी माताको व्रत बस्ने गरिन्छ । पौष शुक्लपूर्णिमाका दिन नुहाइधुवाई गरी शरीर शुद्ध गरेर एकभक्ति भई श्रीस्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरिन्छ । व्रतालुले शुद्ध शाकाहार भोजन गरी साँझबिहान श्रीस्वस्थानीव्रत कथा वाचन श्रवण गरी शिव र सतीको पूजाआजा गर्छन् ।

व्रतका समयमा स्कन्दपुराणमा आधारित नेपाली भाषामा रचिएको मौलिक ग्रन्थ माघमहात्य श्रीस्वस्थानी व्रतकथा वाचन गर्ने चलन छ । छरछिमेकी समेत व्रत लिनेको घरमा गई कथा श्रवण गरी प्रसाद ग्रहण गर्नुका साथै भजनकीर्तन र नाचगान गर्छन् । महिनादिनसम्म श्रीस्वस्थानीको पूजाआजा गरी माघ शुक्लपूर्णिका दिन विशेष विधिपूर्वक समापन गरेर प्रसाद वितरण गरिन्छ । व्रत पूर्ण भएपछि पूजामा प्रयुक्त फूलप्रसादी पवित्र तीर्थ तथा नदीमा लगी सेलाउने चलन छ ।

श्री स्वस्थानी व्रतका बेला काठमाडौको पूर्वोत्तरमा पर्ने मणिचूड पर्वतबाट बग्ने शालीनदीमा स्नान गर्ने र व्रत बस्नेको घुइँचो लाग्छ । स्वस्थानी व्रतकथामा वर्णित शालीनदी किनारको प्राचीन साँखु नगरक्षेत्रमा विभिन्न तीर्थस्थ रहेको भन्ने विश्वासका साथ दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गर्छ । स्वस्थानी व्रतका बेला साँखुमा स्नान,पूजाआजा भक्ति र उपासना गर्नेको महिना दिनसम्म मेला लाग्छ ।

प्रतिकृया दिनुहोस्