Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/११/२५ गते

हेटौंडा । मिस वर्ल्ड टोनी एन सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकको टोली मकवानपुरको कैलाश गाउँपालिका पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा ३ दिनका लागि नेपाल भ्रमणमा आएका मिस वर्ल्ड र मिस वर्ल्ड आयोजक संस्थाको टोली मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकी अवलोकन गर्न कैलाशको तामलाङमा पुगेको हो ।

मिस वर्ल्डसहितका पाहुना तामलाङ पुग्दा कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासिन्दाले स्वागत गरेका थिए । मिस वर्ल्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएको स्वास्थ्य चौकीको अवलोकन गर्न मिस वर्ल्डका आयोजक कैलाश आएका हुन् । मिस नेपाल २०१८ श्रृंखला खतिवडाले स्वास्थ्य चौकीको अवलोकन गराउँदै चेपाङ जातीको बसोबास रहेको तामलाङमा स्वास्थ चौकी निर्माण भएपनि बर्थिङ सेन्टर चलाउन नसकिएको समस्याबारे मिस वर्ल्ड र अध्यक्षलाई जानकारी गराइन । स्वाथ्यचौकीको अवलोकनपछि मिस वर्ल्ड टोनी एनले स्वास्थ चौकी र स्थानीय समुदाय भेट्न पाउँदा खुशी लागेको बताइन ।

मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन् । कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वल्र्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वर्ल्डमा ब्युटी विथ पर्पज जित्न सफल भएको स्थान पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन ।

कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्टलगायत जनप्रतिनिधि र सुरक्षाकमीको सहभागिता रहेको थियो ।


दि हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२०’ को उपलक्ष्यमा मिस वर्ल्ड टोनी र अध्यक्ष जुलियालाई नेपाल भ्रमणका लागि निम्तो दिइएको थियो । ५ मार्चमा नेपाल आएका उनीहरु ७ मार्चसम्म नेपाल भ्रमणमा रहने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्