Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१९ गते

काठमाडौं । आज चैते दशैं अथवा सानो दशैं । चैत्र शुक्ल अष्टमीका दिन भवानीको उत्पत्ति भएको मान्यताअनुरुप देवी भवानीको पूजा आराधना गर्ने गरिन्छ ।

मुलुकभरका शक्तिपीठ तथा मन्दिरहरुमा देवी दुर्गा भवानीको पूजाआजा गरी प्रसादको रुपमा टीका लगाइँदैछ । हरेक वर्षको चैत्र शुक्ल अष्टमी तिथिमा चैते दशैं मनाउने परम्परा छ । आश्विन शुक्लपक्ष तिथिमा मनाइने दशैंलाई बडा दशैं र चैत्र शुक्ल पक्षमा मनाइने दशैंलाई सानो दशैं वा चैते दशैं भन्ने चलन छ । सुदूर पश्चिम र कर्णाली प्रदेशमा चैते दशैं बडो भक्तिपूर्वक मनाउने गरिन्छ ।

सानो दशैंमा पनि बडादशैंकै विधिमा देवी दुर्गा भवानीको पूजा गर्ने गरिन्छ । देवी दुर्गा भवानीले शुम्भ निशुम्भ र महिषासुरलगायतका दैत्यको वध गरी असत्यमाथि सत्यको विजय भएको पौराणिक प्रसंगका आधारमा यो पर्व मनाउने चलन छ । साथै मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रले आसुरीवृत्तिको रावणमाथि विजय प्राप्त गरी साधुसन्तको यज्ञ साधना यथावत राख्न योगदान गरेको सम्झनामा दशैं मनाउन थालिएको शास्त्रहरुमा उल्लेख छ ।

काठमाडौमा रहेका गुह्येश्वरी, मैतीदेवी नक्साल भगवती, कालिकास्थान, भद्रकाली संकटा नरदेवी रक्तकाली शोभा भगवती लगायतका मन्दिरमा देवीपूजा भइरहेको छ । साथै देशका विभिन्न देवी मन्दिरमा आज पूजाआजाका साथै जात्रा पनि निकाल्ने चलन छ ।

चैते दशैंको अवसरमा वागलुङस्थित बागलुङ कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । चैते दशैं मेला भनिने यस मेलामा बागलुङ पर्वत,म्याग्दी कास्की लगायतका छिमेकी जिल्लाहरुबाट भक्तजन, दर्शनार्थीहरु बागलुङ जाने गर्दछन् ।

घरभित्रै सिमित दशैं

यस वर्ष विश्वभर कोरोना भाइरसको महामारी फैलिएकाले देवी मन्दिरमा भेला हुने अवस्था नरहेकाले घर घरमै बसेर देवी भवानीको आराधना गरी चैतै दशैं मनाइँदै छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण खासगरी हिन्दु धर्मावलम्वीहरुले बडो उल्लासका साथ मनाउने दशैं यो वर्ष घर घरमै मात्र सिमित हुने देखिएको छ । सरकारले घोषणा गरेको ‘लक डाउन’ का कारण मानिसहरु मठमन्दीरमा पूजापाठ गर्न र खसीबोका काटेर देवीलाई बली चढाउन नपाउने भएका छन् ।

मिठा मिठा परिकारहरु पकाएर खाने चलन रहेपनि यो पटक दैनिक उपभोग्य सामानकै अभाव रहेकाले त्यो पनि राेकिएको छ । यद्दपी धर्म र यो चाडप्रति अटुट आस्था राख्ने मानिसहरुले आफ्ना नजिकै रहेका मठमन्दीरमा गई पूजाआजा गर्ने अनुमान गर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस्