[जनार्जन पौडेल]श्रावण १ । साँझको समय छ । झमझम पानी परिरहेको छ, बारीमा अग्ला अग्ला मकैका बोटका पातहरु सर्याक सुरुक बजिरहेका छन । घर वरिपरी झ्याउकिरी कराएका आवाजहरु कानमा गुन्जिरहेका छन । तर म भने साँउने झरीको दर्काइ संगै आफ्ना परिवारका सदस्यहरु संग आँगनको डिलमा उभेर हरेक सालझै यसपाली पनि चिच्याइरहेको हुन्छु । ऐ तल्लाघरे माइला भाइइइइइइइइ !ऐ तल्लाघरे माइला भाइइइइइइइ ! यसरी दुईतिन पटक चिच्याएर बोलाए पछि के परेछ भनेर उतावाट जवाफ आँउछ हजुर किन बोलाउनु भएको ठुल्दाई । अनि म वहाकाे जवाफको प्रत्युत्तरमा भन्छु । हाम्रो घरको लुत्तो लैजानुस है ।हरेक बर्ष साउने संक्रान्तिको रात माइला भाईले मैले बोलाउनुको कारण बिर्सन्छन र बोल्छन अनि म चाँहि मेरो घरको लुतो हस्तान्तरण गर्दै मक्ख पर्छु । अनि आफुलाइ गौरभान्वीत महशुस गर्दछु ।अनि सधैंका झैं नाङ्गलो ठटाउदै घरभित्र छिर्छु । यसरि नै वित्दै आएको छ मेरो हरेक बर्षको साउने संक्रान्तीको रात ।
मलाइ यतिले मात्र चित्त बुझ्दैन अनि परिवारका सबै सदस्यको हातमा एउटा एउटा अगुल्टो थमाउँछु अनि आफ्नो हातमा रहेको बलेको अगुल्टो लिएर त्यसलाइ पूर्व,पश्चिम ,उत्तर , दक्षिण चारैतिर घुमाई फलाक्न थाल्छु । वारी गाँउले ,पारी गाँउले ,तल्ला गाँउले ,माख्ला गाँउले खत्री गाँउले,तामाङ गाँउले हाम्रो घरको लुत्तो लैजा है ।
लेखकः जनार्जन पाैडेल
यो मेरो आफ्नै गाँउको वास्तविक कथा हो । जुन काठमाडौ बाट मात्र पन्ध्र किलोमिटर मात्र टाढा पर्दछ । काठमाडौंसंग जोडिएका वस्तीहरुमा यस्ता प्रथा कायमै छन भने दुर दराजमा नहुने त कुरै भएन् । राजधानी संगै जोडिएको गाँउमा आजसम्म पनि यस्ता प्रथा होलान भन्ने कुरा जो कोहिलाइ थाहा नहुन सक्छ र कतिलाइ त विश्वास नहुन पनि सक्छ ।यस्ता प्रथा आजपनि नेपालका मेचि देखी महाकालीका हरेका गाउमा प्रचलनमा रहेका छन । यो धादिङ छत्रेदेउरालीको मात्र कथा होइन नेपालका प्राय सबै भूभागको वास्तविक कथा हो । साउने संक्रान्ति अथवा हाम्रो गाँउको भाषामा भन्ने हो भने लुते संक्रान्तिको यथार्थता हो ।जुन यथार्थतालाइ मैले वितेका पैतिस बर्ष देखि भोग्दै आएको छु ।
हरेक बर्ष झै यसपटकको साउने संक्रान्तिमा पनि मेरो घरमा लुतो फ्याक्नका लागि विशेष तयारी हुदैछ ।म प्रत्येक बर्ष झै पुजाकोसार्जम लिएर लुते देउताको पूजा गर्न तम्सनेछु । मलाइ हिजो मेरा बुवाले त्यहि सिकाए मेरो हजुरबुवाले वहाँलाइ सिकाउनुभयो र मैले गरेको देखेर शायद मेरो छोराले पनि यहि परम्परालाइ निरन्तरता दिनेछ ।
मेरो सानो एकतले जस्ताको घर, घर भन्दा अगाडिको सानो आँगन, आँगनको छेउमा काठका छेस्काका खम्वा तैयार गरि रुखका पातका छानो राखेर लुते देवताका घर बनाइदैछ । त्यसको मुनिपटि ७ वटा दर्शन ढुङ्गा लुते देवताका प्रतिकका रुपमा स्थापित गरेका हुनेछन । त्यहाँ सँगसँगै कुरिलो,पटपटे,भलायो , पानी अमला र कुकुरडाइनो पनि राखिएको हुन्छ । जुन कुकुरडाइनोलाइ लुतो फालीसकेपश्चात घरको ढोकाको माथि राखिनेछ। कुकुरडाइनो घरमा राख्नाले र पटपटे पड्काउनाले चाँहि घर घरवरिपरि भुतप्रेत आउन्नन भन्ने कुराको विश्वास गढेको छ ।
हाम्रो गाँउ देखि केहि माँथि डाँडामा तामाङ्ग गाँउ पनि छ । त्यहाँ पनि हरेक बर्ष हाम्रैमा जस्तै लुतो फाल्ने चलन छ । खाली यतिमात्र फरक छ कि हामी पुजा सकेर भुतप्रेत भगाउन नाङ्गलो ठटाएर घरभित्र पस्छौ । उनिहरुचाँहि भरुवा बन्दुकमा बारुद राखी तोप पड्काउछन ।
आज हामी एक्काइसौ शताव्दिमा प्रवेश गरिसकेका छौ । हामी मध्ये धेरैलाइ यो कुरापनि थाहा भइसक्यो कि हाम्रो शरिरमा बिभिन्न घाउ,खटिरा र लुतो हिलो र फोहरपानीका कारणले संक्रमित भएर हुन्छ । लुतो आउनु कुनै देवी देवता र भुत प्रेतको दोषका कारण हैन । तैपनि बावु वाजेले बिरालो बानेर श्राध्द गरेको देखेर बिरालो बानेर श्राध्द गरे जस्तै पुरै अन्धसंस्कृतीको भक्ते भएर निरन्तर फलो गर्दैछौ हामी । हो निश्चय पनि हाम्रा संस्कृती र परम्पराहरु हामिले विर्सन हुन्न ताकि आउदो पिढीले पनि त्यसलाइ अनुशरण गरुन र त्यसबाट राम्रा कुरा सिकुन । संस्कृतीका धेरै पक्ष राम्रा पनि हुन्छन कुनै कुनै संस्कृती भने आउटडेटेड र समाजका लागि शुन्य महत्वको हुदाहुदै पनि हामिले जोगाइराखेका हुदा रहेछौ ।
त्यसैले आज मैले ति तामझामका साथ लुते संक्रान्ति मनाउने सोच बदलिसके । बरुे म मेरो घरपरिवार र समाजलाइ आजैबाट स्वास्थ्य सम्वन्धि जनचेतना जगाउने काम गर्छु । म लगायत आज सबैले यो कुरामा ध्यान दिनु पर्ने बेला भएको छ । साउने संक्रान्तिका दिन लुतो फाल्दैमा घरपरिवारका सदस्य कसैलाइ पनि घाउ,खटिरा ,लुतो नलाग्ने हैन । नेपालका अधिकांश भुभागका जनतामा बर्षा याममा चिसो र हिलोका कारण खटिरा तथा लुतो आउने गरेको र प्राचिन समयमा त्यसको कुनै औषधी पत्ता नलागेको सन्दर्भभा त्यतिखेर मानिसहरुले उपायको खोजिमा देवी देवताको पुजा गर्ने चलन चलेको हो ।
आज मेडिकल साइन्सले लुतोको त के ठुल्ठुला प्राणघातक रोगका समेत औषधी पत्ता लगाइ सकेको छ । यो अवस्थामा लुतो फाल्ने परम्परालाइ निरन्तरता दिइ रहनुको कुनै अर्थ रहन्न । आज ग्रामिण जनतामा पनि स्वास्थ्य सम्वन्धि चेतनाको विकाश भइसकेको अवस्था छ । यस्तो अवस्थामा पनि लुतो फाल्ने परम्परालाइ निरन्तरता दिनुको अर्थ के ? यस्ता खालका रुढीवादी परम्पराले व्याप्त समाजलाइ परीवर्तन गर्ने सबैभन्दा उत्तम उपाय नै श्वास्थ्य सम्वन्धि जनचेतना नै हो ।
वास्तवमा सबै मानिसले बुझ्नु पर्ने कुरा के हो भने बलेको दाउराको अगुल्टो बालेर नानाथरी फलाकेर फाँक्दैमा नत कसैको लुतो जान्छ न कसैले लुतो लान्छ नै । योत केवल एउटा अन्धविश्वास मात्र हो । आजको एक्काइसौ शताव्दिमा विश्ववन्धुत्वको भावना आइसकेको सन्दर्भमा संकिर्ण सोच र विचारले मेरो घरको लुतो अकार्को घरका व्यक्तिमा सरोस भनेर भन्नुभन्दा पनि सबै निरोगी रहौं कसैलाइ पनि लुतो नलागोस,त्यसको लागि सफा रहौ स्वस्थ रहौ भन्दा कसो होला ?यि हरेक व्यक्तिले बुझ्नु पर्ने कुरा हुन । आज समाजका हरेक छेत्रमा विकृती नै विकृती व्याप्त छन ।शिक्षामा विकृती ,स्वास्थ्यमा विकृती,राजनितीक विकृती,आर्थिक समाजिक विकृती आदि । अनि समाजमा हरेक क्षेत्रमा भ्रष्टाचार,कुसंस्कार र कुरिती अनि कुप्रथा व्याप्त छन ।
आजको आवश्यकता भनेको त बरु सकिन्छ भने तिनै विकृतीहरुको लुतो फाल्नु हो । नेपाली समाजमा सल्केकोे विकृतीको लुतोको औधधी आज न डाक्टर संग छ न बैद्य संगै छ । तसर्थ यसपालीको साउने संक्रान्ति अर्थात लुते संक्रान्तिमा अन्धविश्वास र कुरिति एवं समाजमा व्याप्त सबैखाले बिकृतीको लुतो फालौ । यसपालीको साउने संक्रान्तिले यहि सन्देश सबै नेपाली जनता माझ फैलाओस ।
नेपालखबरडेली डट्कमबाट