माेहनप्रसाद मैनाली
सदाझैँ आज पनि सोहन कार्यालय गयो, फरक यत्ति थियो कि अरू दिन दश बजे पुग्ने सोहन आज बिहान ६ बजे नै पुग्यो । कारण कामको चाप थियो । धर्मकर्म तथा आफ्नो पूर्खाले मान्दै आएका सबै संस्कार यथावत् स्वीकारेर आत्मसात् गरिरहेको सोहनले आजको सम्पूर्ण धार्मिक कार्य कार्यालयमै सम्पन्न गर्यो ।
कार्यालयमा सेवाग्राहीको यति भीड थियो कि सोहनलाई यस्तो कामको अफिस खोलेकोमा कहिलेकहीँ पछुतो पनि लाग्ने गर्थ्याे । पाँच वर्षअगाडि सरकारी जागिर छोडेर निजी अफिस खोलेको थियो आफ्नै लगानीमा । कार्गोको काम हुने उसको अफिसमा दशजना कर्मचारी कार्यरत थिए ।
कर्मचारीलाई बिहानै किन दुःख दिनु भन्ने मानवीय सोचका साथ कसैलाई नबोलाई ऊ मात्रै बिहानैदेखि खटिएको थियो । चिया पनि पिउन पाएको थिएन, रिसेप्सनकी कर्मचारी सारिकाले ‘गुड मर्निङ सर’ भनेपछि ‘मर्निङ’ भन्दै भित्तामा झुण्डिएको घडीतर्फ नजर दौडायो । दश बजेर पनि ४५ मिनेट गइसकेको रहेछ ।
किन यति ढिला गरेको सारिका ? सेवाग्राहीको चाप बढेकाले काममा अग्रसरता देखाउन र सबै कर्मचारीलाई काममा खटिन निर्देशन दियो सोहनले । सबै कर्मचारी आआफ्नो काममा गइसकेपछि सारिका चुपचाप उभिएको देखेर सोहनले सोध्यो, ‘किन काममा नगएको सारिका ? के भयो तिमीलाई ?’
सारिकाले भनिन्, ‘सर आज छुट्टी चाहिएको थियो ।’
ओहो ! ‘आजै यस्तो कामको चाप भएको बेला किन चाहियो तिमीलाई छुट्टी ?’
सारिकाले लजाउँदै भनिन्, ‘सर, आज भ्यालेन्टाइन डे, त्यही भएर… ।’
सोहनले कुरा बुझिहाल्यो । अनायास उसको मानसपटलमा पाँच वर्षअघिको प्रेम कहानीको दृश्य झल्झल्ती टेलिभिजनको पर्दामा जस्तै नाच्न थाल्यो । आँखा चिम्लिएर त्यो बेलाको रङ्गीन दुनियाँमा प्रवेश मात्र के गरेको थियो, सारिकाले फेरि भनिन्, ‘सर म जाउँ ?’
निद्राबाट ब्युँझिए जस्तै उसले भन्यो ‘जाऊ ।’
पाँच वर्षअघि सरकारी जागिर खाँदा सोहनलाई यस्तै संयोग परेको थियो । उसकी प्रेमिकाले बोलाएको समयमा आफूले दिएको वचन पूरा गर्न हाकिमसँग बिदा माग्दा नदिएको र त्यही तोडमा उसले जागिरसमेत छोडेको थियो । उसको विगत्ले आफूलाई त पिरोल्यो नै, अरूको त्यस्तो अवस्था नआयोस् भन्ने मनसायले कामको चाप हुँदाहुँदै पनि सारिकालाई बिदा दियो ।
पाँच वर्षअघि मनाएको भ्यालेन्टाइनलाई आज राम्रैसँग उग्राये सोहनले । कामको चापले घरमा त्यति समय दिन नपाएको उसले श्रीमतीका लागि केही उपहार लिएर अलि छिट्टै घर जाने निर्णय गर्यो ।
विगतमा भ्यालेन्टाइन डे मनाउँदा सात दिनसम्म गरेका विभिन्न क्रियाकलाप पनि उसको मानसपटलमा ताजै भएर आइरह्यो । हुन त उसलाई आज काम गर्न पटक्कै मन लागेको थिएन । तर पनि सार्वजनिक कामको जिम्मा आफ्नै रहेकाले पहिलो प्राथमिकता कामलाई नै दिने निधो गर्यो ।
बेलुका उपहारसहित श्रीमतीलाई अङ्कमाल गरेर हिजोको चुम्बन दिवसमा बिर्सिएको चुम्बन पनि गर्ने लगायतका परिकल्पना मनमा सजाएर उ आफ्नो काममा व्यस्त रह्यो ।
६ बजेपछि कार्यालयमा कामको चाप पनि कम भएकाले कर्मचारीलाई कामको जिम्मा लगाएर सोहन सुपरमार्केट गयो । श्रीमतीका लागि केही उपहार खरिद गरेर समयमै घर पुग्यो । आफ्नो कार ग्यारेजमा थन्क्याएर सरासर घरभित्र पस्यो । ३ वर्षकी छोरी बाबा भन्दै हात समाउन आइपुगिन् । मुस्कुराउँदै छोरीलाई टपक्क टिपेर छातिमा टाँस्यो । छोरीको दुवै गालामा चुम्बनको अपार माया दर्शाउँदै उ घरभित्र पस्यो । सोहनकी श्रीमती बरण्डामा बसेर मोबाइलमा कुरा गरिरहेकी थिइन् । उसले टाढैबाट सुन्यो कि श्रीमती उनकै बहिनीसँग कुरा गरिरहेकी छिन् ।
उनी भन्दै थिइन्, ‘भिनाजुले आज बिहानको खाना बाहिरै खानुभयो, भोलि बिहान खाना बनाउँन भ्याउने गरी आउँ है !’
श्रीमतीको यस्तो कुरा सुनेर सोहन छक्क पर्यो र बाँकी कुरा पनि सुन्यो । उनी भन्दै थिइन्, ‘हेर न आज बिहानै पर सरेँ भन्या ।’
यस्तो सुनेर सोहनको हातबाट उपहारका सामानहरू भूइँमा खसे । निःशब्द बन्यो । दुवैको हेराहेर भयो । दुवैजनाले आँखामै बोले, एकआपसका भाषा बुझे र आआफ्ना कामतिर लागे । उनीहरूले एकआपसमा न त अङ्कमाल नै गर्नसके न त चुम्बन नै । कारण : धार्मिक संस्कारमा हुर्किएका सोहन र उनकी श्रीमतीलाई यस्तो समयमा ‘लसपस’ गर्ने कुनै छुट थिएन ।