News Portal

‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण

२९५७ पटक

काठमाडौं। पत्रकार तथा लेखक राजकुमार दिक्पालको इतिहासपरक पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ शनिबार लोकार्पण गरिएको छ । नेपाली वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा प्रज्ञाभवन संयुक्त रुपमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, लेखककी आमा चन्द्रमाया मुदेनछोङ साँवा, प्राज्ञ दिनेशराज पन्त, डा. चैतन्य सुब्बा, डा. कृष्ण भट्टचन, अजम्बर काङमाङ र खगेन्द्र राई लगायत व्यक्तित्वहरुले पुस्तकको सामूहिक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका काइँलाले दिक्पालको पुस्तक प्रकाशन आदिवासी समूदायका लागि उदाहरणीय काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक आदिवासीका आआफ्नै इतिहास छन् तर तिनको खोजी ढिलो भइसकेको छ, विद्रोहका मात्र होइन, संस्कार र संस्कृतिका कुरा पनि इतिहास हुन्छन्, व्यक्तिको पनि इतिहास हुन्छ, अब त्यतातिर ध्यान पुग्नुपर्छ ।”

पुस्तकमाथि समिक्षा गर्दै डा. कृष्ण भट्टचनले नेपालमा आदिवासी विद्रोहको इतिहास खोतल्ने प्रयास गरेर लेखकले सम्पूर्ण आदिवासी समुदायमा ठुलो गुन लगाएको उल्लेख गर्नुभयो । अब इतिहासकारहरूको ध्यान आदिवासी समुदायको इतिहास लेखनतर्फ जानुपर्नेमा उहाँको जोड थियो ।

लोकार्पण कार्यक्रममा इतिहासकार प्रा. दिनेशराज पन्त, डा. चैतन्य सुब्बा, विष्णु याक्सो, मञ्जरी प्रकाशनका अध्यक्ष लक्ष्मण गाम्नागे, टीका चाम्लिङ, विश्व लिम्बू लगायतका वक्ताहरुले पुस्तकको प्रशंसा गरे । आदिवासी विद्रोहको इतिहासबारे लेखनको सुरुवात भएको भन्दै उनीहरुले यसलाई अन्तिम निष्कर्शमा पुर्याउने काम काम सम्बन्धित सबैको भएको धारणा राखेका थिए ।

कार्यक्रममा लोकार्पित कृतिका लेखक दिक्पालले ‘आदिवासी विद्रोहको इतिहास’ लेखनका सन्दर्भ आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्