Paschim News

आज : २०८१ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मोहनप्रसाद मैनाली प्रकाशित : २०७५/४/१७ गते

काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भेगमा अवस्थित तिमाल क्षेत्र एक रमणीय पर्यटकीय स्थल हो । यस स्थलको नाम तामाङ भाषाको ‘तेमाल’ बाट अपभ्रंस भई ‘तिमाल’ बन्न पुगेको जानकारहरु बताउँछन् ।

 

तिमालको दक्षिणतिर रोशीखोला र उत्तर–पूर्वतर्फ सुनकोशी नदी पर्दछ । पश्चिममा झिगु खोलासँगसँगै पाँचखाल नगरपालिका र काशीखण्ड–दाप्चा नगरपालिकाको समथर भूभाग पर्दछ । राणा शासनको समयमा साँगाभञ्ज्याङदेखि दाप्चा, पलाञ्चोक भगवतीलगायतका १२ सय गाँउ ‘बाह्र तिमाल’ को नाममा प्रचलित थिए ।

 

राज्यव्यवस्थाको परिवर्तनसँगै विभिन्न समयमा प्रशासनिक क्षेत्रको विभाजनसँगै ‘बाह्र तिमाल’ को भूभाग खुम्चिने क्रम सुरु भएको देखिन्छ । बाह्र तिमालको खुम्चिएर बाँकी रहेको हालको भूभाग नै ‘तिमाल’ नामले प्रचलित छ । तिमालको मुख्य स्थल तिमालडाँडा समुद्री सतहबाट लगभग २ हजार मिटरको उचाईमा अवस्थित छ ।

 

विक्रम सम्बत् २०४६ को राजनीतिक परिवर्तनपछि तिमाल भेगमा मेथिनकोट, कानपुर, सर्स्युँखर्क, सरमथली, ठूलो पर्सेल, बोल्देफेदिचे, मेच्छे, कुरुवास–चापाखोरी, कटुञ्जे तथा नारायणस्थान गरी दस गाविस थिए । हाल मेथिनकोट र कानपुर गाविस काशीखण्ड–दाप्चा नगरपालिकामा गाभिए । २०६२–०६३ को जनआन्दोलन र परिवर्तित् राज्यव्यवस्थाअनुरुप तिमाल क्षेत्रको पूरै इलाकालाई एउटा गाउपालिकाका रुपमा प्रशासनिक क्षेत्र बनाउने खाका तयार भएको छ ।

 

तिमाल र तामाङ राज्य

यस क्षेत्रमा तामाङ, ब्राह्मण, क्षेत्री, नेवार, मगर आदिको बसोबास छ । यस क्षेत्रमा आदिवासी–जनजातिका रुपमा बसोवास गर्दै आएको तामाङ समुदायको बाहुल्यता छ ।

 

यस क्षेत्रमा आदिमकालदेखि नै तामाङहरु बसोबास गर्दै आएकाले देश–विदेशमा बस्ने तामाङ समुदायबीच ‘तामाङ संस्कृति बिर्सिए तिमाल जानू’ भन्ने भनाइ प्रचलित रहेको पाइन्छ ।

 

नेपालको राजनीतिक इतिहासमा आधुनिक काल सुरु हुनुभन्दा अघि तिमालमा तामाङ समुदायको छुट्टै राज्य भएको ऐतिहासिक प्रमाणहरुले पुष्टि गरेको छ । हाल कुरुवास चापाखोरी गाविस– ७ मा अवस्थित तत्कालीन राजाको दरबार गोल्म थुम्का (जर्देउ) मा रहेको भनाइ छ । तिमालका राजाको हातहतियार तथा पूजाआजा हुने स्थान अहिले ‘कोत (कोट) तिमाल’ को नामले प्रसिद्ध छ, जुन सर्स्युँखर्क गाविसमा पर्दछ ।

 

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका बेला उनको फौजले तिमालमा पटकपटक आक्रमण गरेको थियो । उच्च पहाडी स्थान तथा तामाङ फौज अत्यन्त शूरवीर रहेकाले पृथ्वीनारायण शाहको फौजले लडाइँ गरेर जित्नु सपनाको कुराजस्तै थियो । तामाङ फौजको सुरक्षामा रहेका तिमालका राजालाई हराउन नसकेपछि पृथ्वीनारायण शाहको फौजले कपटपूर्ण तरिकाले तिमालका राजा र उनका फौजको हत्या गरी तिमाल राज्य कब्जा गरेको कुरा इतिहासमा कहींकतै भेटिन्छ ।

 

तिमालको अवलोकनमा टानको ‘मिडिया फर्म ट्रिप’

तिमाल इलाकालाई नयाँ पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने तथा तिमालमा निर्माण गर्ने भनिएको ‘टान पर्यटकीय स्मारक पार्क’ को निर्माणस्थल अवलोकनका लागि टानको ‘मिडिया फर्म ट्रिप’ तिमाल गएको हो ।

 

यो टोलीमा टानका उपाध्यक्ष रामप्रसाद सापकोटा र तेज गुरुङ, महासचिव कर्ण लामा, सचिव मुक्ति पाण्डे, मिडिया कोअर्डिनेटर सूर्यबहादु घिमिरे, सरिता लामा, अपरेसन अधिकृत देवेन्द्र डङ्गोल, टानका विष्णु भट्टराई तथा अन्य कर्मचारीहरु, विभिन्न टे«किङ एजेन्सीहरुका प्रतिनिधिहरुसहित विभिन्न सञ्चार माध्यमका करिव २ दर्जन प्रतिनिधिहरुको सहभागिता रह्यो ।

 

यस्तो छ टानको नालीबेली…

‘माउन्टेन टुरिज्म’ का क्रममा ट्रेकिङ गाइड तथा एजेन्सीहरूले झेलिरहेका समस्या र तिनको समाधानका लागि सरकारले गर्नुपर्ने कामहरूका बारेमा समस्या तथा तिनको समाधानका उपायसहित नेपाल सरकारलाई सल्लाह, सुझाव र परामर्श दिँदै आफ्ना सदस्यहरूको हकअधिकार र हित प्रबर्द्धन गर्दै आइरहेको संस्था हो ‘टान’ ।नेपालका अगुवा ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) ३७ वर्षअघि स्थापित भएको हो । ‘टान’ ले नेपालमा ‘माउन्टेन टुरिज्मको विकास र प्रबद्र्धनका निम्ति उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । नयाँ पर्यटकीय गन्तव्यको खोजी र त्यसको विकास, प्रबर्द्धन तथा प्रचारप्रसारमा पनि टानको उल्लेखनीय भूमिका रहँदै आएको छ ।

 

 

 

कसरी पुग्न सकिन्छ तिमाल ?

तिमालको मुख्य क्षेत्र कुरुवास–चापाखोरीको तिमाल डाँडामा पुग्न राजधानीबाट ७३ किलोमिटरको दुरी पार गर्नु पर्दछ । तिमालका लागि काठमाडौंबाट सिधा बससेवा छैन ।  काठमाडौं–बनेपा रुटको सवारी साधनबाट बनेपासम्म जानुपर्छ ।  बनेपाबाट तिमाल जान धुलिखेलबाट बीपी राजमार्गको भकुण्डेबेंसी हुँदै स्थानीय कच्ची सडककबाट मेथिनकोट, कानपुर, सर्स्युँखर्क, नारायणस्थान हुँदै चापाखोरीको तिमाल डाँडामा पुग्न सकिन्छ ।

 

 

 

त्यस्तै, पाँचखाल नगरपालिकाको तामाघाटबाट स्थानीय कच्ची सडक प्रयोग गरेर बोहोरे दोभान, सस्युखर्कको आदाबाट हुदै वा बोहोरेदोभानबाट अमल्टारी, सरमथलि, ठूलो पर्सेल हुँदै पनि तिमाल डाँडा पुग्न सकिन्छ ।

 

यसरी प्रस्थान गरियो तिमालतर्फ…

 

टानको कार्यालय मालिगाँउबाट ६ वटा साना गाडीबाट हाम्रो यात्रा सुरु भयो । पर्यटन पत्रकार समूह (जाट नेपाल) का अध्यक्ष देवीप्रसाद पन्त, न्युज २४ का नारायण भण्डारी, अर्थतन्त्र डटकमका हरिशरण न्यौपाने, टुरविजनेपाल डटकमका सविन बस्नेत र मसहित सात जनाको टोली एउटा गाडीबाट तथा टानका पदाधिकारीलगायत अन्य पत्रकारहरुको टोली अरु पाँचवटा गाडीबाट यात्रारम्भ गरियो । हाम्रो यात्रा बनेपा हुँदै धुलिखेलको खावामा पुगेर नास्ताका लागि रोकियो । खावाबाट देखिएको पाँचखाल उपत्यकाको रमणीय दृश्यलाई कैद गर्दै हाम्रो यात्रा पुनः सुरु भयो । खावाबाट केही तल अवस्थित राम मन्दिरलाई देब्रे फन्को मार्दै तीनपिप्लेबाट केही ओरालो र तेस्रो सडकबाट झिगु खोलाको पुल पार गरियो । अरनिको राजमार्गलाई बिदाइ गर्दै पाँचखालको तामाघाटबाट कच्ची सडक हुँदै बोहोरे दोभान पुगियो । झिगु खोलाको पुल पार गरेपछि झिगु खोलाको किनारैकनिार भीरको बाटो हुँदै हाम्रो यात्रा निरन्तरत जारी रह्यो ।

 

अमल्टारीको सानो डाँडामा पुगेर सुनकोशी नदी र केही रमणीय दृश्यसहित टिमका सम्पुर्ण सदस्यहरुको तस्बिर क्यामरामा कैद गर्यौं । त्यसपछि सुरु भएको हाम्रो यात्रा सुनकोशीको किनारमा पुगेर रोकियो । सुनकोशीको किनारमा पानी खेल्दै केही फोटोसेसन गरेर हाम्रो टिम त्यहाँ बाट अगाडि बढ्यो ।

 

अध्यक्षको ससुरालीमा दहीले स्वागत…

 

६ वटा सवारी साधनमध्ये हाम्रो गाडी सबैभन्दा पछाडि गुडिरहेको थियो । यात्राकै क्रममा थाहा भयो कि पर्यटन पत्रकार सघंका अध्यक्ष देवीप्रसाद पन्तको ससुराली गाउँ हाम्रो यात्राको बाटो छेउमै रहेछ । गाडीको अगाडि नै अध्यक्ष पन्त रहेकाले उनका जेठान त्रिपाठीसर बाटैमा देखिए । गाडी रोकियो, टिममा भएका चालकभाइ सहित आठ जनालाई गाउँको शुद्ध दहीले स्वागत गरे त्रिपाठी सरले ।

 

गर्मीले थकित हामी दही खान पाएर पुलकित भयौं । देवीसरलाई धन्यवाद र त्रिपाठी परिवारप्रति कृतज्ञता जाहेर गर्दै हाम्रो यात्रा पुनः अघि बढ्यो । त्यहाँबाट छोटो यात्रापश्चात करिव १ बजे हामी ठूलो पर्सेल पुग्यौं ।

 

ठूलो पर्सेलमा न्यानो स्वागत

 

हामीले स्थानीयबाट ठूलो पर्सेलमा न्यानो माया प्राप्त गर्यौं । पञ्चेबाजाको मिठो धुनका बीच खादा पहिराइदिए । त्यहाँको भव्य स्वागत हामी सबैको मानसपटलमा अविस्मरणीय क्षणका रुपमा रहिरहने छ ।

 

 

 

बुद्ध कोल्तोङ निमाविको प्राङगणमा खानाको व्यवस्था गरियो । खानापश्चात तिमाल डम्फु कला युवा समाज क्लबको आयोजनामा तामाङ समुदायले मनाउने तिब्बती संस्कृतिमा आधारित ‘बोन बो झाँकी’ तथा केही सांस्कृतिक नाचको कार्यक्रममा सहभागी भई हामी चापाखोरीस्थित तिमाल डाँडातर्फ प्रस्थान गर्यौं ।

 

साहिँला दाइको घरमा सेल र गुन्द्रुकको अचार…

 

केही समयको यात्रापछि सिँगटीछाप पुगियो । पर्यटन व्यवसायी साहिँला दाइको घरमा हामीलाई  सेल, तरकारी, गुन्द्रुक र भटमासको अचारका साथै चियाको मिठो परिकारले स्वागत गरियो । मिठो स्वादले जिब्रो फड्कार्दै हिँडेर उकालो यात्रा सुरु भयो, तिमाल डाँडाका लागि ।

 

टिमका सबैजसो सदस्यहरु हिँडेर उकालो लागे । मसहित तीन–चार जना गाडीबाटै लाग्यौं गन्तव्यस्थलतर्फ ।

 

६ बजे पुगियो स्मारक निरर्माणस्थल

 

साँझ करिव ६ बजेतिर प्रस्तावित ‘टान पर्यटन स्मारक पार्क’ को निर्माणस्थल पुगियो । यहाँ पनि हामीलाई पञ्चेबाजासहित स्वागत भयो । मैले यो स्थानलाई सानैमा छाडेर राजधानीवासी भए पनि आखिर मेरो जन्मस्थान त यहीं नै हो । त्यस हिसावले म स्थानीय नै परें, यो स्थानका लागि ।

 

हुन पनि हो, यहाँका रुखबिरुवादेखि घाँसपात र बाटाका ढुङ्गामाटो समेत मेरा लागि चीरपरिचित थिए । अरु बेला त मोटरसाइकलमा एक्लै आउँथिस्, आज त गाडीसहित लाबालस्कर लिएर आएको छस् नि ! बाटोछेउमै ठिङ्ग उभिएको परिचित सल्लाको रुखले मलाई सोध्दै थियो । मचाहिँ स्वीकारोक्तिको भावमा मुस्कुराएँ ।

 

‘माईती गाउँको कुकुर पनि प्यारो हुन्छ…’ यसै भन्ने गर्नुहुन्थ्यो आमा । मैले यो कुरा पटकपटक सुनेको छु आमाका मुखबाट । मेरी दिदी घरबाट माइत जाँदा वा कोही–कसैको माइतीको प्रसङ्ग चल्दा आमाले पटकपटक बोल्ने वाक्य हो यो । हो, मलाई पनि त्यस्तै प्यारो भएको थियो त्यो स्थान, त्यो दिनमा । अरु बेला जाँदा त के मतलब हुन्थ्यो होला र !

 

गोल्म डाँडामा टेन्टको बास…

टान पर्यटन स्मारक पार्कको निर्माणस्थल कुरुवास–चापाखोरी– ७, जरदेउको गोल्म डाँडामा ‘नाइट स्टे’ का लागि टेन्ट खडा भइरहेको थियो, हामी त्यस स्थलमा पुग्दा । त्यस डाँडामा तिमालका राजाको दरबार रहेको र सेनाको गुल्म बस्ने भएकाले गुल्म डाँडा भनिने गरेको बुढापाकाहरु बताउँछन् । गुल्म डाँडाबाट गोल्म डाँडा र हाल तिमाल डाँडाको नामले चिनिन्छ त्यस स्थललाई ।

 

रातको खानापश्चात केही समय गीत गाउँदै नाचगानमा मस्त भए सबैजना । मलाई भने यसै स्थानबाट केही तल रहेको जन्मघरको मायाले तानिरह्यो । सोचें, घरै जाऊँ ।

 

यति धेरै साथीहरु र रमाइलो वातावरणभन्दा जन्मघरको आकर्षणमा नै मेरो मन रहेकाले अँधेरी रातको पर्वाह नगरी घरतर्फ ओरालो झरें ।

 

पत्रकार सम्मेलन…

भोलिपल्ट बिहान टानका मिडिया संयोजक सूर्यबहादुर घिमिरेले पत्रकार सम्मेलन गरी पार्क निर्माणका विषयमा टानको योजनाबारे प्रस्ट्याए । टानका महासचिव तथा तिमालका स्थानीय कर्ण लामाले यस स्थलका बारेमा  विस्तृत जानकारी गराए ।

 

चार वर्षअघि नै यहाँ पार्क निर्माणको योजना बनेको, योजना निर्माणका लागि ५ लाख ५० हजार बजेट छुट्याइएको तर विभिन्न कारणवश योजना अघि बढ्न नसकेको लामाले जानकारी गराए ।

 

टान स्मारक पर्यटन पार्क…

समुद्री सतहबाट करिव २ हजार मिटरको उचाइमा रहेको तिमाल डाँडा एक आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा धेरै पहिलेदेखि नै परिचित छ । यो डाँडाबाट उत्तरतिर अन्नपूर्ण र सगरमाथा हिमश्रृंखला प्रस्ट रुपमा देख्न सकिन्छ भने दक्षिणतिर महाभारत चुरेपर्वत श्रृखंला देख्न सकिन्छ ।

 

यस क्षेत्रमा तामाङ समुदायको बाहुल्यता रहे पनि ब्राह्मण–क्षेत्रीको पनि उल्लेख्य उपस्थिति छ । बिजुली तथा कच्ची सडक सञ्जालको राम्रो सुविधा भए पनि तिमालमा रहेको पानीको अभाव समाधान गर्न सकेमा ‘होम स्टे’ लगायत थुप्रै पर्यटन गतिविधि सञ्चालन गर्न सकिनेछ ।

 

ट्रेकिङका क्रममा निधन भएका मजदुर तथा पर्यटकको सम्झनामा पार्कको निर्माण गर्न लागिएको टानका महासचिव कर्ण लामाको भनाइ छ । यसका लागि कुरुवास चापाखोरी– ७ को सामुदायिक वनबाट १ सय ४० रोपनी जग्गा प्राप्त हुनेछ ।

 

उक्त जग्गामा टानले स्मृति पार्क बनाएपछि यस परिसरमा पर्यटनका क्रममा निधन भएका परिवारका सदस्यहरुले मृतकको स्मृतिमा वृक्षारोपण गर्न पाउने छन् । हेलिप्याड तथा ‘पिक्निक स्पट’ सहितको उक्त पार्कको निर्माण भएमा स्थानीयको आर्थिकस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

 

बोधिचित्त (बुद्धचित्त) माला…

आठौं शताब्दीमा बौद्ध धर्मगुरु रिम्पोछे विभिन्न स्थानको भ्रमण गरी बौद्ध धर्मको प्रचारका क्रममा तिमाल आइपुगेका थिए । हावापानीका हिसाबले यो स्थल स्वस्थ र सुन्दर रहेकाले गुरु रिम्पोछे तिमाल डाँडामा लामो समय ध्यान गरेर बसे, त्यहींबाट विशेष ज्ञान प्राप्त गरे भन्ने मान्यता रहिआएको छ ।

 

यस क्षेत्रमा बस्ने मानिसहरु अत्यन्तै सरल र उदार मनका तर कष्टकर जीवनयापन गरिरहेका देखेर गुरुले जप्दै कतैबाट ल्याएको मालाबाट एक दाना यहीं रोपिदिए । आफू त्यस स्थानबाट जानुभन्दा पहिले रिम्पोछेले ‘यो मालाको नाम बोधिचित्त हो र यसको जपबाट शान्ति तथा बुद्धत्व प्राप्त गर्न सकिन्छ’ भनी स्थानीयहरुलाई बताएको जनश्रुति सुनिन्छ ।

 

त्यही मालाको एक दानाबाट फैलँदै तिमाल क्षेत्रमा सयौं वर्षदेखि एकछत्र राज गर्दै आइरहेको बोधिचित्त मालाले अहिले विश्वव्यापी प्रचार पाएको छ । विश्वमा कतै पनि नभेटिएको यो मालालाई बयर प्रजातिमा समावेश गरिएको थियो ।

 

केही वर्ष अघिको वैज्ञानिक अनुसन्धान र खोजले भने यसको अलग्गै पहिचान र महत्व रहेको भन्दै आफ्नै पहिचान दिएको छ । बौद्ध धर्मका व्यापक अनुयायी रहेका चीन, कोरिया, जापान, थाइल्याण्ड, श्रीलकांलगायतमा यो मालाको प्रचलन प्रयोग उच्च रहेको छ । मालामा प्रयुक्त दानाको आकार हेरी एकै दानाको लाखौं रुपैयाँसम्म पनि पर्छ ।

 

तिमालवासीको प्रमुख आयस्रोतका रुपमा रहेको यो वनस्पती हाल नेपालका विभिन्न भाग तथा विदेशमा समेत हुर्काउने कार्य भइरहेको छ । हालसम्म काभ्रेको तिमाल र नमोबुद्ध भेगमा मात्र उत्पादन भइरहेको यो बिरुवा अन्यत्र रोप्दा हुर्के पनि फल्ने कुरामा भने वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् ।

 

यारी नाग गुम्बा…

 

पत्रकार सम्मेलनपश्चात तिमाल डाँडामा ब्रेकफास्ट गरी विभिन्न धार्मिक एवं पर्यटकीय स्थलका लागि हाम्रो यात्रा जारी रह्यो ।

 

खादा र न्यानो मायासहित सामुदायिक वनका अध्यक्षले हामीलाइ बिदाई गर्नुभयो ।

 

पोखरी नारायणस्थान गाविसको काङलिनस्थित यारी नाग गुम्बाको अवलोकन गर्यौं ।

 

गुम्बा र गुरु पद्मसम्भवको मूर्तिका बारेमा गुम्बाका पुजारीबाट महत्वपूर्ण जानकारी हासिल गर्यौं ।

 

तिमाल नारायणस्थानको दर्शन….

तिमालको मुख्य धार्मिकस्थल श्री सत्यनारायण मन्दिरको दर्शनसहित हाम्रो यात्राले निरन्तरता पायो । यो नारायणको मन्दिर तिमाल नारायणको नामले पनि चिनिन्छ । केही जंगलको बीचबाट करिव १५ मिनेटको उकालो चढेपछि नारायणस्थान मन्दिरमा पुगियो ।

 

त्यस दिन नागपञ्चमी पर्व समेत परेकाले  नारायणस्थानमा सिजनमा फलेका मकै, फलफूल चढाउने भक्तजनको घुइँचो थियो । तिमाल नारायणको छुट्टै कथा र किंबदन्ती छ  । प्रमाणित इतिहास खासै नपाइए पनि यस नारायणको मूर्तिसँग तत्कालीन नेपाल खाल्डो (काठमाडौं उपत्यका) को विशेष सम्बन्ध रहेको मानिन्छ ।

 

तत्कालीन नेपालका शासकहरुले काठमाडौं उपत्यकाको पाँच दिशामा नारायणको मूर्ति स्थापना गर्नका लागि विभिन्न कालिगढलाई भनेका थिए । तिमालका कालिगढलाई पनि मूर्ति बनाउन भनिएअनुसार मूर्ति त बनाए तर त्यस स्थानबाट बोकेर ल्याउन खोज्दा धेरै मानिसले पनि बोक्न सकेनन् । त्यही समाचार काठमाडौं पुर्याइयो ।

 

काठमाडौंका शासकले यो कुरा पत्याउन सकेनन् र यदि मूर्ति बनाएको भए प्रमाणका रुपमा नाक र दाहिने हात काटेर ल्याउनू भन्ने आदेश भएछ । आदेशअनुसार मूर्तिबाट नाक र दाहिने हात काटी शासककहाँ लगिएछ । शासकहरुले मूर्ति बनाएको विश्वास गरे र ज्योतिषलाई देखाउँदा तिमालमा विशेष किसिमको शक्ति रहेकाले त्यस स्थानमा नै मूर्ति स्थापना गराई पूजाआजा गर्नुपर्ने मत प्रकट गरेकाले सो मूर्ति त्यहीं स्थापना गरी तिमाल नारायणका रुपमा पूजाअर्चना गरिँदै आएको किंबदन्ती छ ।

 

जनै पुर्णिमाका दिन विशेष मेला लाग्ने यस पवित्र नारायणको मूर्तिमा यसै दिन मात्र पहिले काटिएका ती नाक र हात जोडिने परम्परा छ ।

 

रिम्पोच्छे गुम्बा याङ्बेल…

नारायणस्थानको दर्शनपश्चात गुरु रिम्पोछेले ध्यान गरेको भनिएको याङ्बेलमा रहेको गुफा अवलोकनका अघि बढ्यौं । कहालीलाग्दो भीरमा रहेको पहरामा एक गुफा रहेछ, जहाँ गुरु रिम्पोछले ध्यान र तपस्या गरेका थिए भनिन्छ ।

 

यो गुफा रहेको पहराको बाहिरी भागमा गुरु रिम्पोछेको आसन तथा पदछाप देख्न सकिन्छ । अति नै भीरको बाटोमा पक्की सिँढीको बाटो बनाइएकाले सजिलै गुफा अवलोकनमा पुग्न सकिन्छ । यस गुफाको अवलोकनपश्चात हामी गाडीबाट कोत तिमालतर्फ लाग्यौं ।

 

कोट तिमालमा खाना…

८ बजे तिमाल डाँडाबाट सुरु भएको हाम्रो यात्रा विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्दै १ बजे सस्र्यूंखर्क गविसको कोत तिमाल (कोट तिमाल) स्थित मउले चउरमा पुग्यो ।

 

थोरै सम्म परेको त्यस भीरालो चउरमा हाम्रो आजको खाना खाने व्यवस्था गरिएको थियो । त्यस चउरबाट दाप्चा–नमोबुद्ध धुलिखेलको डाडो, पाँचखाल उपत्यका, पलाञ्चोक भगवती स्थान, कोशिपारी इलाकालगायत केही हिमश्रृखंला समेतको दृश्यपान गर्दै खाना खायौं ।

 

टानका उपाध्यक्ष रामप्रसाद सापकोट, मिडिया कोअर्डिनेटर सूर्यबहादुर घिमिरे र मबीच चउरमा थकाइ मार्दै यस क्षेत्रमा पर्यटन विकासका लागि टानले के–के गर्नुर्पछ र के–के गर्न सकिन्छ भन्ने विषयमा भलाकुसारी चल्यो । ततपश्चात तिमाल यात्राको अविस्मरणीय क्षण मानसपटलमा कैद गर्दै हाम्रो यात्रा काठमाडौंका लागि प्रस्थान गर्यो ।

 

साभारः न्युजकोसेली डट्कमबाट

प्रतिकृया दिनुहोस्