Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/५/१२ गते

नेपालको कुनै बेलाको ठूलो र एतिहासिक कांग्रेस पार्टी यतिखेर एजेण्डा विहीन बनेको छ । विपक्षीहरुको विरोध मात्र हैन उनीहरुका कृयाकलाप र पछिल्ल गतिविधी हेर्ने हो भने जो कोहिले कांग्रेस एजेण्डा विहीन ढंगले चलेको प्रष्ट देख्न सकिन्छ । तसर्थ उसको यो एजेण्डाविहीन आन्दोलनमा कांग्रेसकै कयौ नेता तथा कार्यकर्ताको समर्थन देखिन्न ।

 

प्रसंग कांग्रेसले गर्न थालेको सरकार विरुद्धको आन्दोलन र अधिनायकवादको सुगा रटाइको । पहिलो कुरा त यतिखेर मुलुकले आन्दोलन र विध्वंश भन्दा पनि विकास र समृद्धि खोजेको छ यो कुरा कुनै पनि कांग्रेसीजन र आम नेपालीले प्रष्ट बुझ्नु जरुरी छ । कांग्रेस नेपालको एतिहासिक पार्टी हो यसलाई नकार्न सकिन्न ।

 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिका नगन्य छ । तर यसो भनिरहदा कांग्रेस नभइ यो देश अस्तव्यस्त हुन्छ चल्नै सक्दैन भन्ने पनि पक्कै होइन । ७ साल,लोकतन्त्रको पहरेदार अनि अधिनायकवाद जस्ता शव्दको निरन्तर सुगा रटाइले यतिखेर कांग्रेसले त्यहि ७ सालको इतिहासको गुन खोजेको जस्तो भान भइरहेको छ । दुखको कुरा आफूलाई जिम्मेवार ठान्ने पार्टीले निर्वाचनबाट जनताले प्रमुख प्रतिपक्षीको भूमिका दिएको कांग्रेस अहिले पनि जिम्मेवार बन्न सकिरहेको छैन ।

 

प्रष्ट भन्नुपर्दा  अझै पनि कांग्रेसले हारलाई आत्मसाथ गर्न नसकेको जस्तो देखिएको छ । ७ सालमा हामिले यस्तो काम गरेका थियौ उस्तो गरेका थियौ भनेर अव जनताले पत्याउने छैनन । अहिले त तत्काल प्रभाव पार्न सक्ने भिजन सहितको नेतृत्व देशले खोजिरहेको छ ।

 

अव त कुनै पनि राजनीतिक दलले अन्य राजनीतिक दललाई के कारण गालि गरिरहेको छ उसका कृयाकलापको के कारण विरोध गरिरहेको छ भन्ने कुरा जनताले बुझ्ने भइसकेका छन् । शायद यो नै लोकतन्त्रको अभ्यास हो ! तसर्थ नेपालका सबै राजनीतिक दलहरुले बुझ्नु पर्ने कुरा यहानेर छ ! एजेण्डा र भिजन बिना नेपालमा राजनीति नगरे पनि हुन्छ अब । उदाहरण हेर्न अन्त कतै जानु पर्दैन नेपालकै विवेकशिल साझा पार्टीलाई हेरे हुन्छ ।

 

कांग्रेस र कम्युनिष्टलाई मात्र गालि गरेर देश बन्दैन आफ्नो भिजन नभएको पार्टी नयाँ होस वा पुरानो जनताले साईड लगाइदिन्छन भन्ने कुरा यिनै पार्टीबाट बुझे हुन्छ ।

 

आफूलाई लोकतन्त्रको एकमात्र पहरेदार ठान्ने कांग्रेसले बाम गठवन्धन भए लगत्तै देखि मुलुकमा अधिनायकत्व भित्रिएको अभिव्यक्ती दिएकोमा अहिले त्यसैलाई मुल नारा बनाएर आन्दोलनको मैदानमा उत्रिएको छ, जसको न कुनै तर्क छ न कुनै तुक नै छ । कांग्रेस होस वा कम्युनिष्ट या अन्य कुनै दल अहिलेको समय आन्दोलन गर्ने समय हैन ।

 

अहिले फेरि आन्दोलनका कुरा गरेर र अनर्गल प्रचार गरेर जनता भड्काउन खोज्नु भनेको आफैं सकिनु मात्र हो । आन्दोलन आन्दोलन भन्दै विरोधका लागि मात्र विरोध गरिरहने संस्कार यसरी नै कांग्रेस भित्र हावी भइरहने हो भने सांच्चै नै भोलिका दिनमा कांग्रेसलाई इतिहासमै खोज्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

 

चाहे केसी आन्दोलन होस वा भूतपूर्व कामु प्रधानन्यायधीशको विषयमा होस समस्या यदि कतै छ भने त्यसलाई सदन र बैठकमै छलफल गरेर टुंग्याउन उपयुक्त होला न कि राज्यको सम्पति नष्ट गरेर विध्वंशमा उत्रिएर । बल्ल बल्ल देशमा दुई तिहाइको सरकार गठन भएको छ देश समृद्धिको बाटोमा लम्कदैछ भनेर जनता धेरै उत्साहि छन ।

 

यस्तो अवस्थामा जनतालाई भ्रम फैलाएर, उचालेर सरकारलाई गलाउन सक्छु भन्नु कांग्रेसको दिवा स्वप्न मात्र हो । यतिखेर जनताले कांग्रेसलाई आफ्नो खुशिमा ग्रहण लगाउने पार्टीको रुपमा हेर्न थालिसकेका छन् । तसर्थ कांग्रेस नेतृत्वले बेलैमा सोच्नुपर्ने भएको छ । अव आन्दोलन र बन्द हड्तालले देश बन्दैन भन्ने कुरा लोकतन्त्रवादी जनताले बुझिसकेका छन् ।

 

राजनीतिक पार्टीका दुई चारजना कार्यकर्ता सडकमा कुर्लिएर न कुनै आन्दोलन नै हुन्छ न त्यस्तो कथित आन्दोलनको कुनै तुक नै रहन्छ ।

 

साधारण मानिसले पनि बुझेको कुरा यतिखेर कांग्रेसले टाउको फुटाए पनि न त केपी ओलीले राजीनामा दिन्छन न सरकार नै ढल्छ तसर्थ कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाहेर बसेकै बेश । यो नै नेपाली कांग्रेसका लागि स्वास्थ्यकर होला र उसको आगामी ४ बर्षपछिको निर्वाचनका लागि पनि ।

 

मैले यसो भनिरहँदा वर्तमान ओली सरकार चाहिँ दुधले नुहाएको जस्तो छ भन्न खोजेको पक्कै होइन । ओली सरकारका पनि केही कमि कमजोरी पक्कै छन् ।  उदाहरणको लागि महंगी नियन्त्रण गर्न नसक्नु, विकास निर्माणका कार्यमा नियमितता देखिनु, जनतालाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमहरु तत्काल ल्याउन नसक्नु आदि कमि कमजोरी पक्कै छन  ।

 

तर ओली सरकारले ल्याएका दिर्घकालिन योजनाले पक्कै पनि मुलुक समृद्धिको बाटोमा जान्छ भन्ने कुरामा म लगायत थुप्रै देशवासी विश्वस्त देखिन्छन् । सरकारका वास्तविक कमजोरी पत्ता लगाएर तत्काल सच्चिने तरिकाले सचेत गराउनु  प्रमुख प्रतिपक्षी दलको कर्तव्य पनि हो । कांग्रेसले यदि विरोध नै गर्नु छ भने यस्ता कुरा उठाउदा राम्रो होला न कि अधिनायकवादको सुगा रटाई ।

 

मलाई यतिखेर कांग्रेस पार्टीका प्रमुख नेताहरु संग एउटा प्रश्न सोध्न मन लागेको छ । अधिनायकवाद भनेको के हो ? के अरुपार्टी लाई नमिसाई एकलौटी सरकार सञ्चालन गर्ने प्रकृया अधिनायकवाद हो ? त्यसो हो भने त्यसको दोष सरकालाई लाग्दैन कम्युनिष्टलाई भोट हाल्ने जनता नै अधिनायकवादी हुन भनेर कांग्रेसले भन्न सक्नुपर्छ ।

 

देशभरिका भएभरका सबै कम्युनिष्ट एक भएपनि नेपालमा नत साम्यवाद आउछ न अधिनायकवाद नैं । सवैले बुझ्नु पर्ने कुरा के हो भने अहिलेसम्म निर्वाचनबाट अधिनायकवाद आएको घटना नगन्य छन् ।

 

के कम्युनिष्टको सरकार आउँदा कांग्रेसलाई अधिनायकवाद भयो ?

 

जनतालाई प्रष्ट बुझेको कुरा चाहिं यतिखेर कांग्रेस सत्ता बाहिर बसेर बौलाएको छ , कांग्रेसलाई जनताले पाखा लगाइदिएपछिको आक्रोश हो यो। यदि यस्तै हो भने कांग्रेसभित्र बचेको थोरबहुत जनमत पनि लामो समय टिक्दैन ।

 

त्यसैले कांग्रेस नेतृत्वलाई मेरो अनुरोध अधिनायकवादको सुगा रटाई  बन्द गर्नुस् ।

प्रतिकृया दिनुहोस्