Paschim News

प्रकाशित : २०७६/७/२३ गते

मकवानपुर । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको विरोधमा हेटौँडाका युवाहरुले मोटरसाइकल  र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

हेटौँडा–८ कमानेको मनकामना युवा क्लबको आयोजनामा शनिबार गरिएको विरोध र्‍यालीमा ‘गो ब्याक इण्डिया’ ‘सीमा मिच्न पाइँदैन’ ‘कालापानी–सुस्ता–लिम्पुधारा हाम्रै हो’ भन्ने जस्ता नारा लगाइएको थियो ।

युवाहरुले भारतलाई खराब छिमेकीको बानी नदेखाउन चेतावनी दिँदै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको बताएका हुन् । मकवानपुरका युवाहरुले भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।

दुई सयभन्दा बढी मोटरसाइकलसहित हेटौँडा–८ कमानेबाट शुरु भएको र्‍याली सानोपोखरा, मानसचोक हुँदै बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा आएर टुङ्गिएको थियो ।

नेपाली युवाहरुको जोस् भारतको विरुद्ध प्रयोग गर्न बाध्य नपारियोस् भन्दै पछाडि हट्न भारतलाई चेतावनी दिएका थिए ।

नेपालीहरु भारतलाई असल छिमेकीको रुपमा मान्दै आएपनि पटक–पटक भारतले नेपाल र नेपालीलाई देखाएको हेपाहा प्रवृतिको प्रतिकार गर्न पछि नपर्ने क्लबका अध्यक्ष सोम लामाले बताउनुभयो । राष्ट्रको लागि युवाहरु भारतीय सीमामा लड्न जान समेत तयार रहेको लामाको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस्