Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१२ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्पका कारण हालसम्म पनि पीडित रहेका सबैमा सहज जीवनको कामना पनि गर्नुभएको छ ।

‘२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनासकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सक्याैं,’ ‘राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, ‘भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ ।’

‘प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिँदै भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनर्निर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएकाे बताउनुभएकाे छ । राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, ‘यसै सन्दर्भमा पुनर्निर्माण पुनःस्थापनाका कार्यमा लाग्नुहुने र सहयोग पुर्‍याउनुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।’

प्रतिकृया दिनुहोस्