Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/१३ गते

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने रमजान पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् । यसरी बिहानदेखि साँझसम्म निराहार बस्नुलाई रोजा पनि भनिन्छ ।

रोजाको समयमा दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना नवौँ महिना हो ।

यही समयमा मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ भने यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गर्ने गरिन्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो रमजान महिनाको मुख्य विशेषता हो ।

यस पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने विश्वास गरिने भएकाले पनि यसलाई विशेष महत्वका साथ मनाउने चलन छ । यस पर्वमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ भन्ने धार्मिक मान्यता अंगिकार गरिन्छ छ ।

एक महिना भर रोजा बस्दा कुलतमा लागेका व्यक्तिहरुको बानीमा पनि परिवर्तन आउन सक्ने जनविश्वास छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई मुसलमान समुदाय गौरव गर्ने गर्दछ । बालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन् । पछिल्लो समय महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ को संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यलाई घरमै बसेर गर्न सबै मुस्लिमहरुलाई अनुरोध गरेका छन् । विभिन्न जिल्लाका मुस्लिम धर्मगुरुले यसरी अनुरोधसहितको निर्देशन दिएका हुन् ।

मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष समिम मियाँ अन्सारीले पनि शुक्रबार आयोजित कोरोना ब्रिफिङका क्रममा घरभित्रै बसेर सबै परम्परागत तथा धार्मिक कार्यहरु गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्