Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१८ गते

काठमाडौं । विश्वभर कोरोना भाइरस फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य संकट ’ निम्तिएको भन्दै आपतकाल घोषणा गरेको छ । नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

कोरोनाविरुद्ध नेपालको तयारी सूक्ष्म र प्रभावकारी रहेको दाबी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको संक्रमण छ÷छैन भन्ने पुष्टि गरिरहेको छ । कोरोना भाइरसको शंका लागेकाहरुलाई छुट्टै ‘आइसोलेसन’मा राख्ने र नियमित निगरानीमा राख्नुपर्दछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले रिपोर्ट पोजेटिभ आएको अवस्थामा १५ दिन आइसोलेसनमै राख्नुपर्ने जानकारी दिनुभएको छ । श्रेष्ठका अनुसार रिपोर्ट नेगेटिभ आयो भने तुरुन्त डिस्चार्ज गरिन्छ । पोजेटिभ रिपोर्ट आयो भने १५ दिनसम्म निगरानीमै राख्नुपर्ने हुन्छ । भाइरस प्रभावित क्षेत्रबाट आउने मानिसलाई परीक्षण गर्ने व्यवस्था त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा सुरु गरि सकिएको छ ।

चीनबाट आउने तातोपानी र रसुवा नाकामा स्वास्थ्य डेक्स स्थापना गरिएको छ । त्यहाँ पनि परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाएको छ । पर्यटन क्षेत्र पोखरा, चितवन लगायतका स्थानमा समेत ‘हेल्थ डेस्क’ राखिएको छ । ती क्षेत्रमा पनि कोरोना भाइरस लागेका व्यक्तिलाई उपचार गर्ने छुट्टै अस्पतालको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, हाल चिनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल ल्याउने सरकारी तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताउनुभएको छ । मन्त्री ज्ञवालीका अनुसार चिनबाट ल्याएका विद्यार्थीहरुलाई नेपाल ल्याएर त्रिभूवन अनतराष्ट्रिय विमान स्थलको ‘आइसोलेन’ मा वा न्यूरोड स्थित् नेपाली सेनाको विरेन्द्र सैनिक अस्पतालमा राखेर चेक जॉच र उपचारको व्यवस्था मिलाउने तयारी भइरहेको बताउनुभयो । तर यसबारे हालसम्म नेपाली सेनालाई पत्र वा निर्देशन प्राप्त नभएको सेनाले बताइएको छ् । सरकारबाट पत्र वा निर्देशन प्राप्त भएमा नेपाली सेना दक्ष जनशक्ती, उपकरण, औषधी र स्थानको लागी तयारी अवस्थामा रहेको नेपाली सेनाका प्रवक्ताले बताउनुभएको छ ।

चीनमा रहेका नेपालीको अवस्था ठीक रहेको, राजदूतावासमार्फत नियमित सम्पर्क भइरहेको र चारवटा महावाणिज्य दूतावास मार्फत सूचना लिइरहेको मन्त्रालयले जनाएको छ । राजदूतमार्फत हरेक दिन त्यहाँ भएका नेपालीको अवस्थाबारे रिपोर्ट आइरहेको छ ।

उहान नजिकका सहरमा १ सय ७७ नेपाली विद्यार्थी रहेका छन् । अमेरिका, जापान, अस्ट्रेलियाले विद्यार्थी लगिसकेका छन् भने भारतले पनि लैजाने तयारी गरिरहेको छ । नेपाललाई पनि दूतावास मार्फत विद्यार्थी लैजान अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्