Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/११/९ गते

काठमाडौं । महाशिवरात्रि पर्व आज आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । आज पशुपतिनाथ तथा मुलुकभरका शिवालय एवं महादेव मन्दिरमा दर्शनपूजनका लागि श्रद्धालुहरुको घुइँचो लागेकोे छ ।

फागुन कृष्णपक्षको चतुदर्शी तिथिमा मनाइने महाशिवरात्रि पर्वमा भगवान शंकर  लोकमा प्रकट हुनुभएको शास्त्रमा उल्लेख छ । जगतकल्याणका प्रतीक भगवान शिवका भक्तहरुले शिवलिङ्गमाजल,फूल, बेलपत्र, रुद्राक्ष, श्रीखण्ड चन्दन चढाएर विशेष पूजाआजा गरी राति धुनी लगाउने गर्दछन् । विषौधिका प्रणेता भगवान शिवलाई भाङ धतुरोजस्ता वनस्पति पनि चढाउने चलन छ । भगवान शिव उत्पन्न हुनुभएको यस रातमा महाशिवरात्रिको उत्सव गरी भजनकीर्तनका साथ रातभर धुनी बालेर शिवसाधना गर्ने परम्परा छ ।महाशिवरात्रिको अवसरमा घरघरमा शिवपूजा गर्नुृका साथै नजिकका शिवालयमा गई भगवान शिवको दर्शन गर्ने चलन छ । आज काठमाडौको श्रीपशुपतिनाथ मन्दिरमा विशेष मेला लागेको छ । शिवपुरी पर्वतबाट बगीआउने पवित्र वाग्मती नदीमा स्नान गरी देवाधिदेव भगवान पशुपतिनाथको आदिज्योर्तिलिङमा पूजाअर्चना गर्न देशविदेशका भक्तसाधुहरु भेला भएका छन् । पाशुपतक्षेत्रमा लाग्ने मेलाहरुमा विशेष मेला मानिने यस पर्वमा शिवभक्त साधुसन्यासीको उपस्थितिले पशुपतिनाथक्षेत्र शोभायमान हुनेगर्दछ । यसै गरी ज्ञानेश्वर,कोटेश्वर आदेश्वर, त्रिपुरेश्वर डोलेश्वर अनन्तलिङ्गेश्वर लगायत उपत्यकाका महादेव मन्दिरहरुमा पनि भक्तहरुको भीड लागेको छ ।

पिण्डेश्वर,हलेसी कुशेश्वर, जलेश्वर, तैलेश्वर,ईशानेश्वर, गलेश्वर महादेव तथा वैद्यनाथ मन्दिरलगायत देशका विभिन्न शिव मन्दिरहरुमा शिवरात्रि पर्वको मेला लागेको छ । महाशिवरात्रिको व्रत बस्नाले ज्ञान,साधनामा सफलता प्राप्त हुनुका साथै मानवजुनी सफल हुने शास्त्रीय मान्यता छ ।

आजै नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस मनाउँदै छ । नेपालको सबैभन्दा पुरानो सुरक्षा संगठनका रुपमा रहेको सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउने गरेको छ । यस अवसरमा नेपाली सेनाले भगवान पशुपतिनाथको सम्मानमा पुष्पवृष्टि गर्ने परम्परा छ । सेना दिवसको अवसरमा आज काठमाडौको टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।

प्रतिकृया दिनुहोस्