Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/२१ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशविदेशमा रहेका नेपालीलाई काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणप्रति सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

मुलुकमा लकडाउन भइरहेको बेला राष्ट्रपतिले शुक्रबार साँझ देशवासीलाई सम्बाेधन गर्दै काेराेनाप्रति सचेत हुन आव्हान गर्नुभएको हाे ।

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्दछु ।’

हाम्रो संयमताले नै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले ध्यान दिनु अति आवश्यक रहेको राष्ट्रपति भण्डारीले सम्बोधनमा भन्नुभएकाे छ ।

संसारका सबैजसो मुलुकमा फैलिइसकेकाे यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उहाँको भनाइ छ ।

महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको प्रशंसा गर्दै भण्डारीले भन्नुभयो, ‘तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ ।’

प्रतिकृया दिनुहोस्