Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१० गते

काठमाडौं ।  निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ ।निर्वाचन आयोगले उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको पूर्ण पालना गर्न पनि सरोकारवाला सबै निकायलाई आह्वान गर्नु भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका मतदाता नामावली अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको पनि जनाएको छ । आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तीको काम सम्पन्न भई आगामी कार्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगंजमा उनीहरुलाई अभिमूखिकरण तालिम दिने कार्ययोजना पनि सार्वजनिक गरिएको जानकारी दिनु भयो ।

आयोगले उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धि सामग्रीहरुको छपाईको कामलाई पनि तिव्रता दिएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले आगामी कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कार्तिक २७ गते स्थानीय तहका उम्मेदवाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् । आयोगले उपनिर्वाचनको प्रयोजनका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरुको व्यवस्थापनको काम पनि भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्