Paschim News

प्रकाशित : २०७५/५/२६ गते

नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औं प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारवाहीको दायरामा ल्याउने लगायतका प्रतिबद्धता व्यक्त गरे । सर्वोच्च अदालत परिसरमा सर्वोच्च अदालतका पूर्व कामु प्रधानन्यायाधीश दीपकराज जोशीले उनलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गरे ।

संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन गर्न अस्वीकृत गरेपछि संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिस गरेको थियो । समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन नगरेपछि जोशी बिदामा बसेका थिए । तर, सोमबार नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न भने जोशी अदालतमा आइपुगेका हुन् ।

संवैधानिक परिषदको सिफारिसमा मिश्रको नाम सोमबारै संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई भदौ ७ मा बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते बाबु महेशदत्त र अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मेका ओमप्रकाश मिश्रले २०३८ जेठ ३० मा तत्कालीन कानुन तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा सुरु गरेका हुन् । साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम सुरु गररेका मिश्रले सोमबारदेखि २८औं प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रधानन्यायाधीशका रुपमा मिश्रले पाँच महिना काम गर्नेछन् । सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले पुस १८ मा अवकाश लिने सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

प्रतिकृया दिनुहोस्