Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१५ गते

काठमाडौं । नेपाली कांग्रेसले नेविसंघमा नैनसिंह महर नेतृत्वको कार्य समितिलाई नै मान्यता दिने भएको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महर नेतृत्वको समितिलाई मान्यता दिने निर्णय गरेको हाे ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले अर्को महाधिवेशन नभएसम्म ११औँ महाधिवेशनले चुनेको नेतृत्व नै कायम राख्ने निर्णय भएको जानकारी दिनुभएको छ । ‘लोकतान्त्रिक पद्दतिमा नेतृत्व महाधिवेशनबाट हस्तान्तरण गर्नुपर्ने हुन्छ’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘त्यही कारणले १२औँ महाधिवेशन नभएसम्म पुरानै कार्य समितिलाई मान्यता दिने निर्णय भएको छ ।’

नेविसंघको २०७३ साउनमा काठमाडौं भएको ११औँ महाधिवेशन अध्यक्षमा महर, महामन्त्री कुन्दनराज काफ्लेसहितको नेतृत्व चुनेकोे थियो । महर नेतृत्वको कार्य कार्यसमितिको कार्यकाल एक वर्षअघि नै सकिएको छ । कार्यकाल सकिएर १२औँ महाधिवेन हुन नसक्दा नेविसंघ म्याद गुज्रिएको लथालिङ अवस्थामा छ ।

म्याद गुज्रिएर भताभुङ बनेको नेविसंघलाई ट्रयाकमा ल्याउन महाधिवेशन नभएसम्म पुरानै कार्य समितिलाई मान्य दिने निर्णय भएको घिमिरेको भनाइ छ ।

युवा नेता घिमिरेले उपनिर्वाचनको उम्मेदवार ७२ घण्टाभित्र तोकिने जानकारी गराउनुभयो । संघीय संसद प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका विभिन्न पद गरी ५१ रिक्त स्थान पूर्ति गर्नका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस्