Paschim News

प्रकाशित : २०७५/५/१६ गते

संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘वली सिस्टर्स’ को संयुक्त नयाँ तीज गीत ‘आउ दीदी बहिनी हो गरौं रमाईलो’ सार्वजनिक भएको छ ।

गीतमा संगीतकार तथा गीतकार एकनारायण भण्डारी रहेका छन् ।अहिलेसम्म विवाह नगरेकी कोमलको ‘पोइला जान पाम’ गीतले चर्चासँगै आलोचना पनि खेप्नुपरेको थियो । गतवर्ष ‘वली सिस्टर्स’ले ‘म त नाँच्दिन क्यारे’ गीत समेत संयुक्त रुपमा गाएका थिए ।

नेपाली संचार, गीत संगीत, राजनीति क्षेत्रमा सुपरिचित कोमल वली भगवान शिवको भक्त समेत हुन् । त्यसैले आफ्नो गीत सोमवार नै सार्वजनिक गरेको परिवर्तन खबरलाई बताईन् ।

जब नेपाली महिलाको प्रमुख चाड हरितालिका तिज नजिकिन्छ, नयाँ तिज गीतहरुको बाढी नै लाग्न थाल्छ । पछिल्ला वर्ष यस्तै गीतहरुमध्ये सर्वाधिक चर्चामा रहने गीत हुन्, गायिका कोमलका । तर, यो वर्ष वलीले गीत ल्याउने हुन् या होइनन् भन्ने धेरैलाई जिज्ञासा थियो । यस्तो किन भने वली राष्ट्रिय सभा सदस्य भएकी छिन् ।

पूर्णकालीन राजनीतिमा लागेपछि गीतमा ब्रेक लाग्ने हो कि भन्ने धेरैको अनुमान थियो । यस्ता अनुमानहरुलाई किनारा लगाउँदै वलीको यो वर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । यो गीत चाहिँ उनले बहिनी प्रज्ञा वली ‘शरद’सँग मिलेर गाएकी हुन् ।

युट्युबमा रिलिज गरिएको ‘आउ दिदी बहिनी हो’ बोलको गीतमा वलीका दिदीबहिनी छमछमी नाचेका छन् । यसअघि यी दिदीबहिनी मिलेर तिज गीत ‘म त नाच्दिनँ क्यारे’ बजारमा ल्याएका थिए ।‘माननीय भए पछि पनि तिज गीत निकाल्न छोड्नु भएन नि ?’ वलीलाई यो प्रश्न गर्दा उनले भनिन्, ‘कसरी सक्नु, गीत–सङ्गीत भनेको त मेरो आत्मा हो, मेरो नशानशामा गीत छ ।’ ‘त्यसो भने यसअघिका जस्तै विवादित गीत पनि आउँदैछन् त रु’ हामीले वलीलाई दोस्रो प्रश्न गर्यौँ ।

यो प्रश्नको जवाफमा वलीले कुटनीति जवाफ दिइन्, ‘विवादमा त यसअघिका गीत पनि परेका थिएनन् । सबैभन्दा महत्वपूर्ण कुरा बुझाइको रहेछ, कसले कुन गीत कसरी बुझे भन्ने हो । तर, यो गीत चाहिँ मौलिक छ, हामीले गीतमा हाम्रा मौलिक परम्परालाई प्राथमिकता दिएका छौँ ।’ वलीले यसपछि पनि यो तिजसम्ममा ६ गीत आउने बताइन् ।

सोमबार सार्वजनिक गरिएको ‘वली सिस्टर्स’ले गाएको गीतका शब्द एकनारायण भण्डारीले संकलन गरेका हुन् । यसको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशन तथा राजेश घिमिरेको छायांकनमा तयार भएको बताइएको छ ।

भिडियाेमा वलीकाे नयाँ गीतः

प्रतिकृया दिनुहोस्