Paschim News

प्रकाशित : २०७५/५/१९ गते

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको शनिबार सम्पन्न प्रथम साधारणसभाले अध्यक्षमा केपी पाठकलाई सर्वसम्मत चयन गरेको छ।

सभाले ७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि गरेको निर्वाचनमा उपाध्यक्षमा विजयरत्न तुलाधर, महासचिवमा राजु केसी, सचिवमा राजु भण्डारी, कोषाध्यक्षमा कमलप्रसाद शर्मा तथा सदस्यहरूमा विश्वराज सापकोटा र रसिक पाठकलाई सर्वसम्मत चयन गरेको छ।

सभामा तदर्थ समितिका अध्यक्ष पाठकले यो प्रतिष्ठानको उद्देश्यमाथि प्रकाश पार्दै विश्वको फिल्मलाई नेपाली फिल्म जगत्सँग सुपरिचित गर्दै लाने बताए।

यही उद्देश्य पूर्तिका लागि गत वर्षदेखि नै प्रतिष्ठानले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्न थालेको उनले बताए।

तदर्थ समितिका सचिव राजु भण्डारीले प्रतिष्ठानको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिष्ठानले यही आगामी फागुनमा सम्पन्न गर्ने लक्ष्य लिइएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करणका लागि विश्वका विभिन्न देशबाट प्राप्त हुने फिल्म छनोट गर्न प्रतिष्ठानका उपाध्यक्ष रहेका विजयरत्न तुलाधरको संयोजकत्वमा गठन गरिएको छनोट समितिलाई शनिबार नै स्वागत गर्दै पदभारसमेत हस्तान्तरण गरिएको छ।

समितिमा प्रविधिविज्ञ करुण थापा, ध्वनिविद् आलोक तिवारी, निर्देशक रामराजा दाहाल, छायाँकार सवनम मुखिया, साहित्य समालोचक अभय श्रेष्ठ र चलचित्र पत्रकार सुशील पौडेल सदस्य रहेका छन्।

प्रतिकृया दिनुहोस्