Paschim News

रासस प्रकाशित : २०७५/८/१५ गते

पाईं पुस्तक निकाल्दै हुनुहुन्छ ? ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आर्इएसबीएन) लिन अब त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयसम्म धाइरहनु नपर्ने भएको छ ।

अब अनलाइनबाटै फारम भरेर ‘आईएसबीएन’ लिन सकिने उपत्यका बाहिरबाट काठमाडौंसम्म धाउनु नपर्ने भएको पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । ‘आर्इएसबीएन’ लिन यसअघि लेखकले केन्द्रीय पुस्तकालयसम्म आउनु पर्थ्यो । तर, अब अनलाइनबाट फारम भरेपछि आवश्यक शुल्क बैंकमार्फत पठाइदिएर ‘आर्इएसबीएन’ प्राप्त गर्न सकिने भएको छ ।

पुस्तकालयले ‘आर्इएसबीएन’ का लागि ३ सय रुपैयाँ शुल्क लिने गरेको छ । त्रिवि केन्द्रीय पुस्तकालयले बेलायतको आर्इएसबीएन प्रतिनिधिका रुपमा सन् २००० देखि नेपालमा प्रकाशित पुस्तकलाई ‘आर्इएसबीएन’ प्रदान गर्दै आएको छ । अधिकारीका अनुसार त्रिवि पुस्तकालयमार्फत हालसम्म करिव ४० हजार पुस्तकले ‘आर्इएसबीएन’ लिइसकेका छन् ।

पुस्तक खोज्नका लागि पुस्तकालयले ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेसन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीयुक्त यन्त्रले पुस्तक खोज्ने जानकारी पुस्तकालय प्रमुख अधिकारीले दिए । पुस्तकालयमा रहेका हरेक किताबमा ‘डिजिटल चिप्स’ राखिएको हुन्छ र किताब खोज्नका लागि ‘रेडियो सेन्सर यन्त्र’ प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने अधिकारीले बताए ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पुस्तकालयले उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने प्रणाली स्थापना गर्दैछ । त्रिविले यसै वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । सो पुस्तकालयमा अहिले करिव ४ लाख पुस्तक रहेको राससले जनाएको छ ।

प्रतिकृया दिनुहोस्