Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२२ गते

इलाम  । इलाम र पाँचथरको केही भागको जनजीवन प्रभावित बनेको छ भने साधुटारमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपातपछि जनजीवन प्रभावित बनेको छ भने हिउँ खेल्नमा भीड लागेको हो ।

पानी परेसँगै यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । पौवा भन्ज्याङ आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ । बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका देखिन्छन् ।

हिउँ परेपछि सडकमा आवतजावत सवारीसाधनमा भने समस्या आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् ।

पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका थिए । रमाइलो भएको भन्दै विदेशी पर्यटक पनि हिउँमा रमाइरहेका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् ।

हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन । यस क्षेत्रमा घर बाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारी साधन चल्न कठिन भएको छ । गैरीबास क्षेत्रमा गाडी हिउँ पार गर्न नसकेर रोकिएका छन् । गैरीबासदेखि फाटकसम्मको क्षेत्रमा घनाजंगल भएकाले हिउँ नपग्लिएका कारण यातायात अवरुद्ध भएको हो ।

हिउँपरेपछि घाम लागेर हिउँ पग्लन थालेपछि सडक चिप्लो भएकाले जोखिम बढेको हो । मुस्किलले केही गाडी मात्र आउजाउ गरिरहेका छन । ठुला सवारी भन्दा साना सवारी साधन चिप्लिएर यात्रा गर्न समस्या भएको छ ।

राँके क्षेत्रमा हिउँ परेपछि खेल्न जानेको संख्या बढेको छ ।

प्रतिकृया दिनुहोस्