Paschim News

माेहनप्रसाद मैनाली प्रकाशित : २०७६/९/१५ गते

मोहनप्रसाद मैनाली
सिन्धुली । सुनकोशी नदीको किनारमा अवस्थित ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको छ । दुई वर्ष अघि मात्र सञ्चालनमा आएको ताज रिसोर्टमा स्वेदशी र विदेशी गरी हजारौँ पर्यटकले सेवा लिइसकेका छन् ।

ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर, मुलकोटमा आयोजित पर्यटन सम्बद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा सञ्चालक बोधराज भण्डारीले रिसोर्टले पर्यटकका लागि दिने सेवा सुविधा तथा निकट भविष्यमा सञ्चालनमा आउन लागेका पर्यटन सम्बद्ध विविध गतिविधिका बारेमा जानकारी गराउनुभयो ।

‘हामीले विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकलाई पनि विषेश जोड दिएर त्यसै अनुरुपको व्यवस्था गरिरहेका छौँ’, सञ्चालक भण्डारीले भन्नुभयो, ‘भ्रमण वर्ष २०२० लाई लक्षित गरी लिखित प्याकेजको व्यवस्था गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।’ उहाँले भन्नुभयो, ‘त्रिशुली र सुकुटेमा भएका सुविधा यहाँ पनि दिने तयारी गरिरहेका छौं, जसबाट तराई र काठमाडौं दुवैस्थानबाट आउने पर्यटकका लागि समान दूरी र मुख्य गन्तव्य हुन सक्नेछ ।’

काठमाडौं र वर्दिवास बीचको मध्य भाग मुलकोटमा रिसोर्ट रहेकाले आन्तरिक पर्यटकका लागिसमेत आकर्षक गन्तव्य हुन सक्ने भण्डारीको भनाइ थियो ।

काठमाडौंबाट मुलकोट पुग्न करिब तीन घण्टाको समय र ९५ किलोमिटरको दूरी रहेको र बर्दिवासबाट पनि ९५ किलोमिटरको दूरी र तीन घण्टाको समय लाग्ने भएकाले दुवै स्थानका पर्यटकका लागि आकर्षक गन्तव्य हुनसक्ने रिसोर्टका प्रबन्ध निर्देशक मनोज श्रेष्ठ बताउनुहुन्छ ।

‘आन्तरिक पर्यटकका लागि सुनकोशी नदीमा जलयात्रा लगायत रामेछाप, खोटाङ र सिन्धुलीका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गराइरहेका छौं’, प्रबन्ध निर्देशक श्रेष्ठले भन्नुभयो, ‘बाह्य पर्यटकका लागि मन्थलीको फ्लाइटसम्म एक घण्टाको समयमा पुर्‍याउने, जलयात्रा तथा विभिन्न एडभेन्चरको व्यवस्था गरिएको छ ।’ काठमाडौंबाट हलेसी मन्दिर तथा पूर्वतर्फ जाने यात्रीहरुका लागि विश्राम स्थलका रुपमा पनि सुविधा दिइरहेको श्रेष्ठको भनाइ छ ।

‘रिसोर्टमा रहेका ३० कोठाबाट दैनिक ७० जनालाई रात्रिकालिन सेवा दिन सक्छौं’, रिसोर्टका बारेमा जानकारी दिँदै सञ्चालक तेजबहादुर जर्गा मगरले भन्नुभयो, ‘स्थानीयहरुको संलग्नतामा सञ्चालन गरिएको रिसोर्ट भएकाले यहाँ आउने पर्यटकहरुले स्थानीय संस्कार र संस्कृतिका बारेमा राम्रोसँग जानकारी प्राप्त गर्न सक्नेछन् ।’

‘जिल्लाकै पहिलो रिसोर्टको रुपमा सञ्चालनमा आएको यस रिसोर्टले सुनकोशी नदी किनारमा टेण्ड राखेर पर्यटकका लागि मनोरञ्जनसमेत दिने तयारी गरेको छ, साथै पिकनिकका लागि विशेष व्यवस्था गरी दुईदेखि चार सयजनाकाे व्यवस्थापन गर्नसक्ने अवस्थामा हामी रहेका छौं’, उहाँले भन्नुभयो, ‘स्थानीयको सम्लग्नतामा सञ्चालन गरिएको यस रिसोर्टमा आउने पर्यटक सुरक्षाका दृष्टिकोणले अत्यन्त सुरक्षित रहनेछन् ।’

सञ्चालक मगरले आन्तरिक तथा बाह्य पर्यटकका लागि विकास भइरहेको रमणीय स्थल मुलकोट र रिसोर्टका बारेमा सञ्चार माध्यमबाट विशेष प्रचार प्रसार गरिदिन आग्रहसमेत गर्नुभयो ।

पर्यटन पत्रकार संघ (जाट-नेपाल) अध्यक्ष देवीप्रसाद पन्तले सूचना सम्प्रेषण र जानकारीका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘सुनेको भन्दा देखेको कुरा नै प्रमाणित हुन्छ’, अध्यक्ष पन्तले भन्नुभयो, ‘मिडियामा गएको जानकारी सही हुने भएकाले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मुलकोट र ताज रिसोर्टका बारेमा पर्यटन प्रवर्द्धनका लागि मिडियामार्फत सक्दो प्रचार प्रसार गर्नेछौं ।’ रिसोर्टले आन्तरिक पर्यटकलाई मुख्य प्राथमिकतामा राखेर पर्यटकीय गतिविधि गर्नुपर्नेमा पन्तले जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत पर्यटन पत्रकार संघ (जाट नेपाल) सम्बद्ध पत्रकार तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्